राजेशको सम्मान कि अपमान ?

राजेशको सम्मान कि अपमान ?


गत हप्ता महानायक राजेश हमाल निकै तनावमा रहे । एक अपरिचित विवाहित महिलाले आफू राजेश हमालकी श्रीमती अनि आफूसँग तीन सन्तान पनि रहेको भनेर प्रहरीसमक्ष उजुरी दिएपछि मिडियालाई सनसनी खबर नै प्राप्त भयो यो । अहिलेसम्मको २३ वर्षो कलाकारिता क्षेत्रमा हमाल यसरी महिलासँगको सम्बन्धमा कहिले पनि विवादमा तानिएका थिएनन् ।
ती महिलाले हालेको उजुरी गलत भएको प्रमाणित भएपछि भोलिपल्ट बिहान ९ बजे हमाल काठमाडौंको कुमारी हलमा भेटिए । आफूले अभिनय गरेको चलचित्र ‘फर्की आऊ’को विशेष प्रदर्शनीमा सहभागी हुन हल आएका उनले अनौपचारिक कुराकानीमा भने, ‘जीवनमा नसोचेको घटनाको पनि सामना गर्नुपर्‍यो । यस्तो होला भन्ने त कहिले पनि सोचेको थिइनँ ।’ निकै चिन्तित देखिन्थेँ हमाल ।
केवल उजुरीको भरमा आफू पहिलोपटक प्रहरीचौकीमा पुगेको कुरा उनले बताए । यो घटनाले अमेरिकामा रहेका आफ्ना दिदीहरूको मनमा पनि चोट पुगेकोमा हमाल दु:खी थिए ।
उजुरी हाल्नेको विगत र वर्तमानको मूल्याङ्कन नगरीकन कुनै सेलिबे्रटीलाई प्रहरीचौकीमा बोलाइनु सेलिबे्रटीमाथिकै अपमान भएको महसुस पनि यतिबेला बजारमा गरिन थालिएको छ । जसले जुन बेला जस्तो आरोप लगाए तापनि सेलिबे्रटीहरू लुरुक्क परेर प्रहरीसमक्ष पुग्नुपर्दा के सम्मान रह्यो र कलाकारहरूको ? चलचित्रकर्मीहरूको भनाइ छ ।
हमालविरुद्ध उजुरी दिने ती महिलालाई अहिले प्रहरी प्रशासनले के गरिरहेको छ
त ? सबै अनभिज्ञ रहेका छन् । यस्ता हलुका उजुरी र निवेदनका भरमा प्रहरीसमक्ष पुग्दा हमाल साँच्चिकै नर्मल रूपले प्रस्तुत भएका थिए । उनी उभिनासाथ आरोप लगाउने ती महिला नर्भस भएकी थिइन् भने उनले यति मात्र भनिन्, ‘तपाईंले मलाई एक घन्टा कुरा गर्न समय पनि दिनुभएन अनि मैले उजुरी हालेकी हुँ ।’ यस्तो वाहियात कारणले गर्दा हमालजस्ता नेपाली सिनेमाका एक सम्मानित सेलिबे्रटी हलुका रूपमा प्रस्तुत हुनुपर्ने समय पनि आयो ।
यो घटनापछि महानायक राजेश हमाल अहिले पहिलेजस्तो खुलेर कुरा गर्ने अवस्थामा छैनन् । नेपाली चलचित्रकर्ममाथि आफूले खर्चेको २३ वर्षको समयमा यस्ता साधारण आरोपको खण्डन गर्न ठूलै चोर, हत्यारा र फटाहाजस्ता बनेर प्रहरीचौकी जानुलाई उनले निकै गहिरो रूपमा लिएका छन् । ‘भोलि यो घटना अरूलाई पनि पर्न सक्छ । त्यसैले म गएको हुँ । मलाई भो कुरामा दु:ख लागेको छ कि हाम्रो कलाकारिता र कलाकारलाई राज्यले कति हलुका र सस्तो रूपले हेरेको रहेछ । विदेशमा यस्तो घटना भयो भने मुलुक पर्खाल भएर उभिन्छ तर हाम्रो यहाँ त्यस्तो अवस्था छैन,’ उनले भने ।
यो घटनापछि अमेरिकामा रहेका आफ्ना डाक्टर दिदीहरूले अब आफूलाई उतै बस्ने गरी बोलाएको कुरा पनि हमालले आफ्ना साथीभाइसमक्ष बताउने गरेका छन् । ‘त्यहाँ कमाए तापनि त्यो नाम गुम्न धेरै समय लाग्दैन, यतै आऊ,’ आफ्ना दिदीहरूले भनेको कुरा यसैगरी बताउने गरेका छन् हमालले आजभोलि । तर, उनले ठोस निर्णय भने गरिसकेका छैनन् ।
हमालले आफूविरुद्ध यस्तो आरोप लाग्दा देश-विदेशमा रहेका शुभचिन्तकहरूबाट प्राप्त ढाडस र चिन्ताले आफूलाई ऊर्जा मिलेको कुरा पनि बताए । एक हप्ताको तनावबीच हमालले बीचमा आएका केही सिनेमाको प्रस्ताव पनि अस्वीकार गरेका थिए ।

जीकेको अँगालोमा रागिनी
लामो समयदेखि सिनेमाको पर्दामा दर्शकहरूले प्रायश: एउटै अनुहार हेर्दै आइरहेका छन् । उस्तै उपस्थिति अनि उस्तै अभिनय र प्रस्तुति हेर्दाहेर्दै दिक्क भएका दर्शकको त्यो दिक्दारी अब हट्ने भएको छ । नयाँ सोच, उत्साह, उमङ्ग र केही गरौँ सिनेमा क्षेत्रमा भनेर यतिबेला आएका छन् जीके शर्मा ।
पर्यटन व्यवसायी जीकेलाई पहिले दर्शकहरूले देख्न पाउने भएका छन् नायकको रूपमा चलचित्र ‘सम्झिराख है…’ मा । यतिबेला यो चलचित्रको पोष्टप्रोडक्सनको काम भइरहेको छ भने यो चलचित्र रिलिज नहुँदै उनले नायककै भूमिका पाएको अर्को चलचित्र हो दुलही रानी । पहिलो चलचित्र रिलिज नहुँदै अर्को चलचित्रमा जीकेको काम पाएपछि साँच्चिकै यतिबेला उनको नामको खुलेर प्रशंसा गरिन थालिएको छ । यसबारे जीकेले भने, ‘मलाई लाग्छ कि मेरो काम साँच्चिकै बजारमा आएपछि झनै तारिफ पाउन सक्छु म । यस्तै उत्साह मिल्दै गएमा मलाई अगाडि बढ्न सजिलो हुन्छ ।’
चलचित्र ‘सम्झिराख है’मा अस्मिता कँडेलको जोडी बनेका जीके अर्को चलचित्र ‘दुलही रानी’ मा भने रागिनी खड्गीको जोडी बनेका छन् । द्वन्द्व निर्देशक राजेन्द्र खड्गीकी छोरी रागिनीसँगै यतिबेला फोटो सेसनमार्फत छाइरहेका छन् जीके । अब उनी आफ्नो व्यवसायसँगै सिनेमा अभिनयलाई पनि निरन्तरता दिने योजनामा रहेका छन् । ‘हरेक क्षेत्रमा लाग्दा समय मिलाएर लाग्न सकियो भने अवश्य पनि सफल हुन सकिन्छ । म पनि त्यही सोचका साथ लाग्दै छु,’ उनले भने ।

ठकुरी परिबन्दमा
भारतको गुवाटीमा रहँदा नै भीकेएस ठकुरी टेलिचलचित्र निर्माणतर्फ लागिपरिसकेका थिए । त्यहाँ केही टेलिचलचित्रहरूको निर्माणमा व्यावसायिक रूपमा सफलता हात पारेपछि नेपाल आएका ठकुरी अब नेपाली कलाकारिता क्षेत्रमा लागिपर्ने सोचका साथ अगाडि बढेका छन् ।
ठकुरीको निर्माण रहेको टेलिचलचित्र ‘परिबन्द’को यो साता एक भव्य समारोहबीच शुभ-साइत सम्पन्न भयो । भन्नेहरूले त ठूलो पर्दाको चलचित्रको शुभसाइत पनि यसरी गरेको देखिएको थिएन पनि भने । ‘कलाकारिता क्षेत्रमा अब जमेरै लाग्ने योजना बनाएको छु । परिबन्दपछि अर्को टेलिचलचित्र पनि बनाउनेछु,’ ठकुरीले भने ।
टेलिचलचित्रहरूको निर्माणसँगै ठूलो पर्दाको चलचित्रको निर्माणतर्फ पनि अगाडि बढ्ने योजनामा रहेका छन् भीकेएस ठकुरी । उनले भने, ‘हामीले भारतीय टेलिचलचित्रहरू हेर्ने नेपाली दर्शकलाई नेपाली टेलिचलचित्रतर्फ आकर्षित गराउन सके मात्र हाम्रो बजार बढ्नेछ,’ उनको दाबी छ, ‘परिबन्द दर्शकमाझ आएपछि केही हदसम्म विदेशी टेलिचलचित्रमा रमाउने नेपाली दर्शकको मन नेपाली टेलिचलचित्रतिर मोडिनेछ ।’
बाबुराम ढकालले परिबन्दको निर्देशन गरेका हुन् । यो टेलिचलचित्रको हाल काठमाडौंका विभिन्न स्थानमा छायाङ्कन भइरहेको छ भने परिबन्दमा शिरु विष्ट, लक्ष्मी गिरी, श्याम घिमिरे र मुकुन्दकिशोर भट्टराईलगायतका कलाकारको अभिनय रहेको छ ।

स्वासासमा चिन्तन
स्वाजन साहित्य समाजको हालै काठमाडौंमा बसेको साधारणसभाले वरिष्ठ साहित्यकार एवम् पूर्वीय धर्म दर्शनमा ख्यातिप्राप्त लेखक अच्युतप्रसाद पौडेल ‘चिन्तन’को नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । स्रष्टाहरूको छाता समूह स्वाजन साहित्य समाजको स्थापना वि.सं. २०६२ मा भएको हो । संगीत, कला, संस्कृति, संस्कारसँग सम्बद्ध व्यक्तित्वहरूको संगम स्वाजन साहित्य समाजका निवर्तमान अध्यक्ष डा. दीर्घसिंह बमले हालै एक समारोहबीच नयाँ कार्यसमितिमा चयन भएका पौडेलको टोलीलाई शुभकामना व्यक्त गर्दै मौलिक चिन्तन र स्वाध्यायमा समर्पण हुन आग्रह गर्नुभयो ।