नेपालको नयाँ नक्सा जारी भएपछि नेपाल र भारतबीचको विशिष्ट प्रकारको सम्बन्धमाथि नै बादल मडारिएको अनुभूति गरिँदै छ । एकाएक तीव्र रुपमा विकसित घटना र यसबाट दुई छिमेकी मित्रराष्ट्रबीच उत्पन्न हुन सक्ने अप्ठ्यारो परिस्थितिबारे विभिन्न कोण र तहबाट चर्चा एवम् व्याख्या विश्लेषण भइरहेका छन् । वार्ताबाट समस्याको समाधान खोज्नुपर्ने सुझावहरु दुर्व तर्फबाट व्यक्त गरिँदै छन् ।
यसै सिलसिलामा नेपालसँगका सबै समस्याको दुई मुलुकबीचको छलफलबाट समाधान खोजिने भारतीय रक्षा मन्त्री राजनाथ सिंहले बताएका छन् । छिमेकी देश नेपालसँग सामाजिक, ऐतिहासिक वा सांस्कृतिक सम्बन्ध मात्र नभइ ‘धार्मिक’ पनि भएको भारतका प्रभावशाली राजनीतिज्ञसमेत रहेका सिंहको भनाई छ ।
सीमा सडक संगठन (बोर्डर रोड्स अर्गनाईजेसन)द्वारा ‘कैलास मानसरोवर यात्राको सुविधाका लागि निर्माण गरिएको सडकलाई लिएर लिपुलेकसम्मको सडकबारे दुई मुलुकबीचको बुझाईमा भिन्नता आएपछि’ सिंहको यस्तो भनाइ आएको भारतीय मिडियाहरुले जनाएका छन् । सो सडक मानसरोबरसम्म जानका लागि बनाइएको ८० किलोमिटर नयाँ मार्ग ‘भारतीय क्षेत्र’मा रहेको दाबी सिंहले उत्तराखण्ड जनसम्वाद ऱ्यालीलाई भिडियो सम्मेलनमार्फत सम्बोधन गर्ने क्रममा बताएका थिए ।
मन्त्री सिंहले भनेका छन्, “नेपालमा यसबारे बुझाइमा केही गलत धारणा आएका छन् । यसलाई हामीले वार्ताका माध्यमबाट समाधान गर्नेछौँ ।”
“नेपालले चासो व्यक्त गरेजस्तो हामीबीच सामाजिक, भौगोलिक, ऐतिहासिक वा सांस्कृतिक सम्बन्ध मात्र नभई हामीबीच धार्मिक सम्बन्ध पनि रहेको छ । भारतले यसलाई कहिल्यै बिर्सन सक्दैन”, उनको थप भनाई छ ।
दुई मुलुकबीच ‘रोटी–बेटी’ को सम्बन्ध रहेको र यसलाई ‘विश्वका कुनै शक्ति’ले तोड्न नसक्ने परम्परागत अभिव्यक्ति पनि भारतीय रक्षामन्त्रीले दिएका छन् ।
उक्त अवसरमा सिंहले भारतीय जनता पार्टी नेतृत्वको उत्तराखण्ड राज्य सरकारले विगत तीन वर्षमा गरेका कामको प्रशंसा गर्दै उत्तराखण्डमा भाजपाले गरेका सबै वाचालाई यसै कार्यकालको अन्त्यसम्ममा पूरा गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।
ज्ञातव्य छ, केही दिन पहिले नेपालको प्रतिनिधि सभाले सर्वसम्मत रूपमा पारित गरेको नेपालको नयाँ नक्सालाई मान्यता दिन संविधानको संशोधन गर्ने निर्णयलाई आइतबार राष्ट्रिय सभाले अनुमोदन गरेको थियो । नयाँ नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरासमेत समेटिएको छ ।
प्रतिक्रिया