बितेको २४ घन्टायता कोरोना भाइरसको प्रकोपका कारण संयुक्त राज्य अमेरिकामा झण्डै चार सय नागरिकको मत्यु भएको छ । अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा गएको २४ घन्टा यता कोरोना भाइरसका कारण भएका मृत्युमध्ये चार सयभन्दा कमको ज्यान गएको हो ।
उक्त विश्वविद्यालयले चार सय भन्दा कमको निधन भएको अमेरिकामा यो दोस्रो दिन हो भनेको छ । यसरी हेर्दा अमेरिकामा एकै दिनमा हुने मृत्युमा कमी आएको देखिएको छ ।आइतबार यहाँ ३ सय ८५ जना कोरोना संक्रमितको ज्यान गएको छ । त्यस्तै सोमबार यो भाइरसबाट ३ सय ८२ जनाको ज्यान गएको सो विश्वविद्यालयको तथ्याङमा देखिएको छ ।
मार्च महिनाको अन्त्यतिरबाट शुरु भएको यहाँको महामारीमा दैनिक रुपमा निकै धरै मानिसको ज्यान जाने गरेको थियो । उक्त संख्यामा आइतबार र सोमबार निकै ठूलो मात्रामा कटौती आएको देखिएको सम्बद्ध अधिकारीहरुलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।
अमेरिकी अधिकारीहरुले यस हप्ताको अन्त्यतिर योभन्दा पनि कम संख्यामा कोरोना प्रभावितको ज्यान जान सक्ने अनुमान पनि गरेका बताइएको छ । अमेरिकामा संक्रमित हुनेको संख्या भने बढ्दो मात्रामा रहेको देखिएको छ । यहाँ मंगलबारसम्म १ लाख १६ हजार नागरिकको ज्यान गएको छ ।
त्यस्तै, त्यहाँ २० लाख भन्दा पनि बढी व्यक्ति कोरोना भाइरसका संक्रमित भएका छन् । यहाँ अहिले पनि दिनमा करिब २० हजार जना संक्रमित थपिने गरेका पाइएको छ ।
प्रतिक्रिया