बेलायतमा कोभिड–१९ सङ्क्रमणको गम्भीर समस्या रहेका एक तिहाई बिरामीको जीवन जोगाउन ‘स्टेरोइड डेक्सामेथासोन’को प्रमुख भूमिका रहेको अन्वेषकहरूले बताएका छन् ।
मङ्गलबार सार्वजनिक परीक्षण परिणामबारे दिइएको जानकारीमा डेक्सामेथासोनको भूमिका बेलायतमा गम्भीर खालका कोरोनाभाइरस सङ्क्रमित बिरामीको उपचारमा वरदान नै बनेको उल्लेख गरिएको छ ।
बेलायतको अक्सफोर्ड विश्वविद्यालयसँग सम्बन्धित अन्वेषकहरूको टोलीले भनेको छ, ‘बेलायतमा प्रशस्त पाइने ‘स्टेरोइड डेक्सामेथासोन’ औषधिले गम्भीर प्रकृतिका सङ्क्रमित दुई हजार व्यक्तिको जीवन बचाउन सफल भएको छ ।’
अनुसन्धानको प्रारम्भिक रिपोर्ट अनुसार मेसिनको सहायतामा कृतिम श्वास दिई उपचार गर्नु परेका कोभिड–१९ सङ्क्रमित ३५ प्रतिशत बिरामीको मृत्युलाई कम गरेको थियो भने अक्सिजन दिनु परेका विरामीमध्ये पाँचमा एक जनाको सङ्क्रमणलाई निको पारेको थियो ।
उक्त रिपोर्टमा भनिएको छ, ‘डेक्सामेथासोनको दैनिक मात्राहरूले हरेक आठमा एक जना भेन्टिलेटरको प्रयोगमा पुगेका कोभिड–१९ विरामी र अक्सिजन दिएर राखिएका हरेक २५ सङ्क्रमित विरामीमध्ये एकलाई रोगसँगको लडाईंमा सफलता मिलेको थियो ।’
यो परीक्षण उपचार असम्भव देखिएका वा जटिल प्रकृतिका कोरोनाभाइरस सङ्क्रमित करिब चार हजार बिरामीलाई गरिएको थियो ।
अक्सफोर्ड विश्वविद्यालयका नुफिल्ड चिकित्सा विभाग सङ्क्रामक रोगविज्ञ प्राध्यापक पिटर होर्बीले डेक्सामेथासोन कोभिड–१९ सङ्क्रमित बिरामीको स्वास्थ्य सुधार गर्न सफल पहिलो औषधि भएको र यो स्वागतयोग्य नतिजा भएको बताएका छन् । डेक्सामेथासोन उपलब्ध औषधिमध्ये सस्तो र विश्वभर सहज रूपमा पाइने जटिल बिरामीको स्वास्थ्यमा सुधार गर्न सफल औषधि भएको उनको जिकिर छ ।
प्रतिक्रिया