विदेशबाट आपूर्ति हुने खाद्य सामग्रीको परीक्षणमा चीनले किन गऱ्यो कडाई ?

विदेशबाट आपूर्ति हुने खाद्य सामग्रीको परीक्षणमा चीनले किन गऱ्यो कडाई ?


विदेशबाट आपूर्ति हुने खाद्य सामग्रीमार्फत कोरोना भित्रिएको आशङ्कामा चीनले परीक्षणलाई कडा पारेको छ ।

चीनको राजधानीस्थित एक मासु बजारबाट कोभिड–१९ सङ्क्रमण फैलिएको रिपोर्टसँगै खाद्य सामग्री (खासगरी सीफुड)को परीक्षणमा कडाई गरेको हो ।

चिनियाँ स्वास्थ्यविदहरूले पछिल्लो समय कोभिड–१९ सङ्क्रमित बिरामीमा यूरोपमा कोरोना भाइरस सङ्क्रमित बिरामीको जस्तो लक्षण भेटिएको उल्लेख गरिएको छ ।

चिनियाँ अधिकारीहरूले राजधानी बेइजिङको सिनफादी मासु बजारमा काम गर्ने वा व्यवसाय गर्ने व्यक्तिमा सङ्क्रमण भेटिएपछि वरपरका विद्यालय तथा बस्तीहरूलाई बन्द गरी त्यहाँका सयौँ हजार नागरिकको कोरोना सङ्क्रमण परीक्षण शुरू गरेको छ ।

यसैबीच राजधानी बेइजिङमा थप २५ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको र योसँगै दोस्रो चरणमा सङ्क्रमित हुनेको सङ्ख्या १८३ पुगेको छ ।

पछिल्लो चरणमा सङ्क्रमण भेटिएका बिरामीको लक्षण यूरोपका बिरामीको लक्षणसँग मिल्दाजुल्दा रहेकोले यतिबेलाको सङ्क्रमण ‘यूरोपबाट चीन भित्रिएको’ चिनियाँ रोग नियन्त्रण तथा रोकथाम केन्द्रका झाङ योङले बताए ।

चीनमा पछिल्लो चरणमा फैलिएको सङ्क्रमण यूरोपमा अहिले आउने बिरामीकोभन्दा अलिक पूरानो स्वरूपको रहेको भेटिएको उहाँको दाबी रहेको छ ।

सिनफादी क्षेत्रका विदेशबाट ल्याइएका सालमन जातका माछा काटिने अचानामा सङ्क्रमण भेटिएको चिनियाँ अधिकारीले बताएका छन् । यसै आधारमा चीनमा पछिल्लो समय देखिएको सङ्क्रमण यूरोपबाट चीन आपूर्ति हुने बरफमा राखी ल्याइएका सीफुडसँगै भित्रिएको हुनसक्ने झाङको दाबी थियो ।

चीनले सीफुडका १५ हजार ६३८ नमूना सङ्क्रलन गरी परीक्षण गरेको थियो तर ती सबैमा कोरोना भाइरसको सङ्क्रमण भेटिएको थिएन ।