चिनियाँ विदेश मन्त्रालयले पूर्वी लद्दाख क्षेत्रको गलवान उपत्यकामा भारतीय सेनासँग भएको झडपका क्रममा हराएका भनिएका कुनै पनि भारतीय सैनिक चिनियाँ सेनाको नियन्त्रणमा नरहेको बताएको छ ।
विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजिआनले शुक्रबार चीन–भारत सीमाका बारेमा सोधिएको प्रश्नको जवाफमा ‘चीनले कुनै पनि भारतीय सेनालाई नियन्त्रणमा नलिएको’ जवाफ दिए ।
गत बिहीबार भारतीय विदेश मन्त्रालयले पनि गलवान उपत्यकामा चिनियाँ सेनासँगको भिडन्तमा कुनै भारतीय सेना बेपत्ता नभएको स्पष्ट गरेको थियो ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले साप्ताहिक ब्रिफिङका क्रममा गलवान उपत्यकामा भारतीय सैनिकहरु बेपत्ता नभएको बताएका छन् । साथै भारतीय सेनासमेतले सबै भारतीय सैनिक सम्पर्कमा रहेको स्पष्ट भारतीय पक्षको दाबी छ ।
चिनियाँ र भारतीय सेनाबीच भएको भीडन्तमा २० जना भारतीय सेनाको मृत्यु भएको थियो । लद्दाख क्षेत्रको सीमारेखालाई लिएर भएको द्विपक्षीय सम्झौतालाई दुबै पक्षले सम्मान गरेको अवस्थामा यस्तो दुर्घटना नहुने भारतीय पक्षको भनाइ छ ।
प्रतिक्रिया