अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोसँग भेटवार्ता गर्ने बारेमा विचार गरिरहेको बताएका छन् । राष्ट्रपति ट्रम्पको आइतबार (२० जुन) प्रकाशित एक अन्तर्वार्तामा उनले भेनेजुएलाका विपक्षी नेता पूरै विश्वासिला नभएको संकेत गर्दै राष्ट्रपति मदुरोसँग भेट गर्ने सोच बनाएको सन्देश दिएका हुन् ।
भेनेजुएलाका विपक्षी नेता हुँवा गुएइदोले राष्ट्रपति निकोलास मदुरोलाई हटाएर आफूलाई सन् २०१९ मा मुलुकको राष्ट्रपति घोषणा गरेयता शक्ति संघर्ष चुलिएको छ । विपक्षी दलले भाग नलिएको तथा अन्तर्राष्ट्रिय जगतले पनि चुनावमा धाँधली भएको आरोप लगाए पनि राष्ट्रपति मदुरोले आफू विधिवत निर्वाचित भएको भन्दै राष्ट्रपति पदको दोस्रो कार्यकालको सपथ लिएका थिए ।
संयुक्तराज्य अमेरिका समेत विश्वका झण्डै ६० मुलुकले विपक्षी नेता गुएइदोलाई समर्थन जनाएका छन्, तर चीन र रसियाले भने राष्ट्रपति मदुरोलाई नै मान्यता दिएका छन् । राष्ट्रपति मदुरोविरुद्ध अमेरिकाले विपक्षी नेतालाई समर्थन गरी धेरै किसिमका प्रतिबन्ध एवं नाकाबन्दी लगाएको छ ।
तर, विवादकै बीच एक्सियोस न्यूजलाई दिएको अन्तर्वार्तामा आफू भेनेजुएलाका राष्ट्रपतिसँगको भेटवार्ताका लागि खुला रहेको बताएका एएफपीले जनाएको छ ।
न्तर्वार्तामा राष्ट्रपति ट्रम्पले भनेका छन् ‘मैले त्यसबारेमा सोच्दैछु । मदुरो पनि सायद भेट्न चाहनुहुन्छ । मैले कहिल्यै पनि बैठकका लागि अस्वीकार गरेको छैन ।’ उनले थप भनेका छन्, ‘मैले जहिल्यै भन्ने गरेको छु, भेटघाटबाट केही नराम्रो हुँदैन ।’
अमेरिका र मदुरोको समाजवादी सरकारबीचको सम्बन्ध गत मे महिनामा ५२ जना शंकास्पद व्यक्तिलाई गिरफ्तार गरिएपछि अझ खराब स्थितिमा पुगेको थियो जसमा दुई जना अवकाशप्राप्त अमेरिकी सैनिक पनि थिए । उनीहरुले अमेरिकी सहयोगमा भेनेजुएलाको सरकार विरुद्ध विभिन्न शंकास्पद गतिविधि गरेको आरोप लागेको छ । तर वासिङ्टनले यस दाबीको खण्डन गरेको छ ।
भेनेजुएलाका विपक्षी नेता गुएइदोलाई अमेरिकाले निरन्तर समर्थन गरे पनि अन्तर्वार्ताका क्रममा राष्ट्रपति ट्रम्पले पटकपटक गुएइदो त्यति विश्वासयोग्य व्यक्ति नभएको बताएका छन् ।
राष्ट्रपति ट्रम्पले भेनेजुएलामा जे भइरहेको छ त्यसको विपक्षमा आफू रहेको बताउँदै गर्दा उहाँले गुएदोका बारेमा भनेका छन्, ‘मैले उहाँलाई समर्थन गरेकै हो, तर यो त्यति अर्थपूर्ण कुरा होइन ।’
राष्ट्रपति ट्रम्पका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनको संस्मरणात्मक पुस्तकका कारण सिर्जना हुने तनाव मत्थर बनाउन ह्वाइट हाउसले प्रयत्न गरिरहेकै समयमा यसरी राष्ट्रपति ट्रम्पको अर्को विवादास्पद अन्तर्वार्ता प्रकाशन भएको छ ।
एक्सीओसले बोल्टनकै पुस्तकको एक अंश प्रकाशन गरेको छ जसमा बोल्टनले लेखेका छन्, ‘ट्रम्पको सोचाईमा मदुरोको तुलनामा विपक्षी नेता गुएइदो निकै कमजोर छन् ।’
बोल्टनका अनुसार राष्ट्रपति ट्रम्पले गुएइदोलाई अमेरिकी राष्ट्रपतिको प्रारम्भिक चुनावमा उठेर पछि उम्मेदवारी परित्याग गरेका बेटो ओ–रुकी जस्तै अस्थिर रहेको बताउने गरेका थिए ।
प्रतिक्रिया