विश्वमा कोरोना भाइरसबाट ४ लाख ९१ हजार भन्दा बढीको मृत्यु

विश्वमा कोरोना भाइरसबाट ४ लाख ९१ हजार भन्दा बढीको मृत्यु


कोभिड–१९ बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या करिव ४ लाख ९२ हजार पुगेको छ । पछिल्लो विवरणअनुसार ४ लाख ९१ हजार ९ सय १ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । संक्रमणबाट विश्वभर ९७ लाख १७ हजार ५३ जना पीडित रहेका डब्लुएचओले जनाएको छ ।

नेपाली समयानुसार शुक्रबार (२६ जुन) मध्याह्नसम्म प्राप्त समाचारअनुसार हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिव ३९ लाख ७३ हजार ५२७ व्यक्ति उपचाररत रहेका छन्, जसमध्ये ५७ हजार ३ सय ९१ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । कोरोना भाइरसका कारण बिरामी भएका ५२ लाख ५३ हजार ६२५ जनाचाहिँ निको भएका छन् ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २५ लाख ४ हजार ६७६ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख २६ हजार ७८५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

यस्तै, दक्षिण अमेरिकामा १९ लाख ८६ हजार २०१ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ७७ हजार ८८८ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २९ लाख १९ हजार ७२५ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ६३ हजार १६४ जनाको मृत्यु भएको छ ।

युरोपमा २३ लाख ७३ हजार २०३ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ८९ हजार ५०३ को मृत्यु भएको छ । एसियामा २० लाख ७७ हजार ११९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ५२ हजार ९१ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ३ लाख ५० हजार ८६० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ९ हजार १०४ जनाको मृत्यु भएको छ । ओसियानामा ९ हजार २२४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२६ जनाको मृत्यु भएको छ ।