कोरोनाका कारण विश्वभर करिव पाँच लाखको मृत्यु

कोरोनाका कारण विश्वभर करिव पाँच लाखको मृत्यु


विश्वमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या करिव पाँच लाख पुगेको छ । हालसम्म ४ लाख ९३ हजार ६ सय चार जनाको मृत्यु भइसकेको र छिट्टै मृतकको सङ्ख्या पाँच लाख पुग्न सक्ने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । यसैगरी सङ्क्रमितको सङ्ख्या पनि करोडकै हाराहारीमा पुगेको बताइएको छ ।

विश्वकै सबभन्दा धेरै पभावित मुलुक अमेरिकामा शुक्रबार मात्र कोरोना सङ्क्रमणको ४० हजार ८ सय ७० नयाँ मामला सार्वजनिक भएको छ । यसका साथ अमेरिकामा हालसम्म २४ लाख भन्दा धेरै मानिस सङ्क्रमित हुन पुगेका छन् । सम्बद्ध विषयका स्वतन्त्र विश्लेषकहरूले त अमेरिकामा करोडभन्दा धेरै सङ्क्रमणमा पर्ने आँकलन गरेका छन् ।

यस्तै, ब्राजिलमा शुक्रबार हालसम्मकै रेकर्ड तोडिने गरी एकै दिन ४६ हजार ८ सय ६० नयाँ सङ्क्रमित देखिएका छन् भने बितेको २४ घण्टामा ९ सय ९० जनाको कोरोनाकै कारण ज्यान गएको छ । त्यहाँ सङ्क्रमितको कूल सङ्ख्या करिव १३ लाख पुगेको छ ।

अष्ट्रेलियाको मेलबर्नमा कोभिड–१९ को बढ्दो सङ्क्रमणलाई लिएर विशेष चिन्ता प्रकट गर्न थालिएको छ । सङ्क्रमण रोक्ने प्रयत्नका बाबजुद कसरी कोरोना भाइरस फैलिरहेको छ भन्ने विषयलाई त्यहाँ रहश्यमयी रूपमा हेरिएको छ ।

यता भारतमा हालसम्म ९० हजार मानिस कोरोना भाइरसबाट सङ्क्रमित हुन पुगेका छन् भने मृत्यु हुनेको सङ्ख्या १५ हजार नाघेको छ । गोवाका मुख्यमन्त्रीले त कोरोनाले सामुदायिक सङ्क्रमणको रूप लिएको स्वीकार गरेका छन् ।