अफगानिस्तानमा कार्यरत नेटोका सुरक्षाकर्मीहरुले गरेको सुरक्षा कारबाहीमा परी १५ जना तालिबान लडाकू मारिएका छन् । अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा भएको सो कारबाहीमा ती तालिबानका लडाकू मारिएको एएनआईले जनाएको छ ।
अफगानिस्तानकै बाल्ख प्रान्तमा तीन दिनअघि मात्र पनि नेटोले नै गरेको कारबाहीका क्रममा कम्तीमा २५ जनाको मृत्यु भएको बताइएको थियो ।
मृत्यु भएकाहरुमा सबै जना तालिबान लडाकूहरु रहेका छन् । शुक्रबार (२६ जुन) राति सो घटना भएको सम्बद्ध अफगानी अधिकारीहरूले बताएका छन् ।
टोलो न्युजले सम्प्रेषण गरेको समाचारमा दक्षिणी कान्दाहार प्रान्तको साइसान उपत्यकामा तालिबानहरुले सुरक्षा गस्तीमा रहेका अफगान प्रहरीमाथि आक्रमण गरेपछि नेटो सुरक्षाकर्मीले सो कारबाही गरेका थिए ।
सोही साइसान उपत्यकाको एक गाउँमा सुरक्षाकर्मीहरुले ती लडाकूमाथि हवाई आक्रमण गरेका थिए । कान्दाहार प्रान्तका प्रान्तीय सरकारका प्रवक्ताले सो जानकारी दिएका छन् ।
स्थानीय समााचार श्रोतका अनुसार आक्रमणका क्रममा अरु ६ जना सशस्त्र तालिबान घाइते पनि भएका छन् ।
केही तालिबानहरुलाई नेटो सैनिक समूहले नियन्त्रणमा पनि लिएको जनाइएको छ । यस घटनाका बारेमा तालिबान लडाकूहरूको तर्फबाट भने अहिलेसम्म कुनै प्रतिक्रिया नआएको समाचारमा जनाइएको छ ।
प्रतिक्रिया