पतञ्जलीले कुरा फेऱ्यो : ‘कोभिड-१९ को औषधि बनाएको दाबी गरेका छैनौँ’

पतञ्जलीले कुरा फेऱ्यो : ‘कोभिड-१९ को औषधि बनाएको दाबी गरेका छैनौँ’


भारतको चर्चित पतञ्जली आयुर्वेद कम्पनीले कोरोना भाइरसको औषधि बनाएको कहिल्यै दाबी नगरेको स्पष्टिकरण दिएको छ ।

भारतको उत्तराखण्ड, हरिद्वारमा रहेको उक्त आयुर्वेदिक संस्थाले उत्तराखण्डको आयुष मन्त्रालयद्वारा मागेको जानकारीमा आफ्नो पूरानो दाबीलाई घुमाउरो पारामा फिर्ता लिँदै भनेको छ, ‘पतञ्जलीले कहिल्यै पनि कोरोना भाइरसको औषधि बनाएको दाबी गरेको छैन, तर हाम्रो औषधिले कोरोना भाइरस सङ्क्रमित बिरामी निको भएको छ ।’

आयुष मन्त्रालयद्वारा प्रदान गरिएको अनुमतिपत्रअनुसार औषधि बनाइएको जवाफ मन्त्रालयलाई पतञ्जलीका कार्यकारी प्रमुख आचार्य बालकृष्णले दिएका हुन् ।

‘हामीले तुलसी गिलोय अश्वगन्धाको आधुनिक तहको संयोजनबाट तयार गरिएको औषधि कोभिड–१९ को विरामीलाई क्लिनिकल परीक्षणका लागि दिइएको र यसको सेवनले उनीहरू निको भएका हुन् । तर हामीविरूद्ध षड्यन्त्र भएको छ, यदि मन्त्रालयले परीक्षण गर्न भनेमा हामीले क्लिनिकल परीक्षणबाट आफ्नो दावीलाई पुष्टि गरिनेछ । हामी यसलाई सामना गर्न तयार छौँँ,’ बलकृष्णको भनाई छ ।

यसै महिनाको शुरूमा पतञ्जली आयुर्वेदले निम्स विश्वविद्यालयको सहकार्यमा कोरोनिल र स्वासारीवाती नामक औषधि सार्वजनिक गर्दै यसले कोरोना भाइरस सङ्क्रमित बिरामी निको भएको दाबी गरेको थियो । सो संस्थाका प्रमुख बाबा रामदेवले यस्तो दाबी गरेका थिए ।