भारतको उत्तरप्रदेशस्थित कानपुरमा आठ प्रहरीको गोली प्रहार गरी हत्या गरिएको छ । अपराधी पक्रिन गएको प्रहरी समूहमाथि आपराधिक समूहले अन्धाधुन्ध बन्दुक चलाउँदा एक डिएस्पीसहित आठ जना प्रहरीकर्मीको मृत्यु भएको एएनआई जनाएको छ ।
विकास दुबे नामक एक खतर्नाक अभियुक्तले कानपुरको दिकरु गाउँमा आश्रय लिएको सूचना पाएर बिहीबार मध्यरातमा भारतीय प्रहरीको टोली त्यसतर्फ गएको थियो । गाउँमा प्रहरी आउन सक्ने सम्भावनाको आँकलन गरी आपराधिक सूमहले सडकमा जेसिभी तेर्स्याएर अवरोध खडा गरेका थिए । अवरोध पन्छाउँदै अपराधी लुकेको सम्भावित स्थलमा प्रहरी पुगे पनि घरको छतबाट एक्कासी थुप्रै सङ्ख्यामा बन्दुक चलाइएको र घटनास्थलमै आठ प्रहरीको मृत्यु हुनुका साथै अन्य ६ जना घाइते भएको बताइएको छ ।
आत्मरक्षार्थ प्रहरीका तर्फबाट समेत फायर खोलिए पनि आपराधिक समूहतर्फ खास क्षति पुग्न नसकेको प्रारम्भिक रिपोर्टमा जनाइएको छ ।
बताइएअनुसार खतर्नाक अपराधी विकास दुबेमाथि भारत सरकारले साठी वटा मुद्दा लगाएको छ, जसमध्ये अधिकांश मुद्दा व्यक्ति हत्यासँग सम्बन्धित छन् ।
अहिले घटना भएको गाउँमा व्यापक मात्रामा प्रहरी परिचालन गरी सर्च अभियान चलाइएको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले अपराधी पक्रिएर सख्त कारवाही गर्न निर्देशन दिएका समाचारमा जनाइएको छ ।

प्रतिक्रिया