अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा मास्क प्रयोग गरिएपछि…

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा मास्क प्रयोग गरिएपछि…


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको महामारी शुरु भएपछि पहिलो पटक सार्वजनिक रूपमा मास्कको प्रयोग गरेका छन् ।

यसअघि कोरानाभाइरसको महामारीलाई कम महत्व दिँदै मास्क प्रयोगलाई समेत उपेक्षा गर्दै आएका राष्ट्रपति ट्रम्पले मास्कको प्रयोग उपयोगी छ र गर्नुपर्दछ भन्ने सन्देश दिने गरी मास्क लगाएको सन्दर्भ यतिबेला विश्वव्यापी रुपमै चर्चामा छ ।

यसअघि उनले आफू मास्क नलगाउने अभिव्यक्ति दिएका थिए भने डेमोक्र्याटिक प्रतिस्पर्धी जो बाइडनले मास्क लगाएकोमा उपहास गरेका थिए ।

गत अप्रिल महिनामा अमेरिकाको ‘सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रेभेन्शन (सीडीसी)’ ले भाइरसको विस्तार रोक्न मास्क वा कपडाले मुख छोप्न सुझाव दिँदा पनि ट्रम्पले अस्विकार र वेवास्ता गर्दै आएका थिए ।

तर, शनिबार (११ जुलाई) अमेरिकी सैनिक अस्पतालको अवलोकन भ्रमणका क्रममा उनले मास्क लगाएको फोटो अहिले भाइरल भएको छ ।

वाल्टर रिड नेशनल मिलिट्री मेडिकल सेन्टरमा उनी शनिबार हेलिकोप्टर मार्फत् गएका थिए । मास्क लगाएको अवस्थामा सार्वजनिक भएपछि उनले विषेश गरेर अस्पतालमा आएको बेला मास्क लगाउनु स्वास्थ्यका लागि राम्रो हुने प्रतिक्रिया दिएका थिए ।

राष्ट्रपति ट्रम्प घाइते सिपाही र स्वास्थ्यकर्मीहरूलाई भेट्न वाशिङ्टनबाहिर रहेको सो अस्पताल गएका थिए ।

यसैबीच अमेरिकामा पछिल्लो २४ घण्टामा ६६,००० भन्दा बढी नयाँ सङ्क्रमित भेटिएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

महामारी सुरु भएदेखि अहिलेसम्म अमेरिकामा झन्डै १,३५,००० हजार मानिसको मृत्यु कोरोनाकै कारण भएको जनाइएको छ ।