कोरोनाको श्रोत खोजी गर्दै डब्लुएचओको टोली चीनमा

कोरोनाको श्रोत खोजी गर्दै डब्लुएचओको टोली चीनमा


कोरोना भाइरसको उत्पत्तिको श्रोतको खोजी गर्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का विज्ञहरु चीन पुगेका छन् ।

डब्लुएचओका दुई जना विज्ञ चीन पुगेका चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुन्नीलाई उद्धृत गर्दै एएनआईले जनाएको छ ।

विश्वभरी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमण सबैभन्दा पहिला चीनमा भेटिएकोले उनीहरु अध्ययनका लागि चीन गएका हुन् । डब्लुएचओका विज्ञहरुले चिनियाँ वैज्ञानिक, चिकित्सा विज्ञ र सरोकारवालाहरुसँग छलफल गर्ने बताइएको छ ।

उनीहरुले चिनियाँ विज्ञहरुसँग सम्बन्धित विषयमा प्रश्नहरु गर्ने र चिनियाँ विज्ञहरुले जानकारी दिने हुआले बताए । डब्लुएचओका स्वास्थ्य विशेषज्ञहरु यस्तै छलफलका लागि अन्य देशहरुमा पनि जान सक्ने पनि उनले जानकारी दिए ।

धेरै ठाउँमा धेरै चरणबाट कोरोना भाइरसको विकास भएकाले उनीहरु आवश्यकता अनुसार अन्य देशहरुमा पनि जानसक्ने हुआले पत्रकारहरुलाई जानकारी दिए । यसअघि डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रयेससले अघिल्लो महिना भनेका थिए, ‘कोरोनाभाइरसको श्रोत के हो भन्ने कुरा पत्ता लगाउनु धेरै महत्वपूर्ण हुन्छ ।’

यो विज्ञानसँग सम्वन्धित, सार्वजनिक स्वास्थ्यसँग सम्बन्धित विषय भएको, यसले सबैलाई प्रभावित पारेको र सरोकारको विषय भएकाले कसरी शुरु भयो, कहाँ उत्पत्ति भयो भन्ने कुरा पत्ता लगाउनु पर्ने उनको भनाइ थियो ।

कोरोना भाइरस पहिलो पटक गत वर्ष सन् २०१९ को डिसेम्बरमा चीनमा भेटिएको पुष्टि गरिएको थियो । त्यसपछि विश्वका धेरै देशहरुमा कोभिड–१९ को महामारी फैलिएको छ ।