कोरोनाका कारण विश्वभरी पाँच लाख ८१ हजारको मृत्यु

कोरोनाका कारण विश्वभरी पाँच लाख ८१ हजारको मृत्यु


विश्वभरी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण बुधबार (१५ जुलाई)सम्ममा मृत्यु भएकाहरुको संख्या पाँच लाख ८१ हजारभन्दा बढी पुगेको छ ।

त्यसैगरी कुल सङ्क्रमितको संख्या पनि दिनप्रतिदिन बढेर एक करोड ३४ लाख ७१ हजार ८६२ पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कुल सङ्क्रमितमध्ये ७८ लाख ६६ हजार २६५ जना भने सङ्क्रमणमुक्त भइसकेका छन् ।

विश्वभरी सङ्क्रमित भएकाहरुमध्ये सबैभन्दा धेरै अमेरिकामा रहेका छन् । कोरोनाका कारण मानवीय क्षति र सङ्क्रमितको संख्याका आधारमा अमेरिका सबैभन्दा अगाडि रहेको छ ।

अमेरिकामा बुधबारसम्ममा ३५ लाख ४५ हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने मृत्यु भएकाहरुको संख्या एक लाख ३९ हजार १४५ रहेको छ ।

त्यसैगरी कोरोनाबाट दोस्रो धेरै प्रभावित भएको मुलुक ब्राजिलमा १९ लाख ३१ हजार सङ्क्रमित हुँदा ७४ हजार २६२ जनाको मृत्यु भएको छ ।

भारत तेस्रो धेरै सङ्क्रमितको सूचीमा पर्दछ भने चौथो धेरै सङ्क्रमित हुनेमा रुस रहेको छ । रुसमा बुधबार सम्ममा सात लाख ४६ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । रुसी अधिकारीहरुले कोरोनाका कारण देशभित्र मृत्यु भएकाहरुको संख्या ११ हजार ७७० पुगेको जानकारी दिएका छन् ।

त्यसैगरी पाँचौमा पेरु, छैठौँमा चिली, सातौंमा मेक्सिको, आठौँमा स्पेन, नवौंमा दक्षिण अफ्रिका र दशौँमा बेलायतमा धेरै सङ्क्रमितहरु रहेका छन् ।

कतिपय देशहरुमा सङ्क्रमित हुनेहरुको संख्यामा कमी देखिए पनि विश्वभरीको अवस्थामा सन्तोषजनक सुधार आउन नसकेको भन्दै विश्व स्वास्थ्य सङ्गठनले चिन्ता व्यक्त गरेको छ ।