कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुनेको सङ्ख्या ६ लाख नाघेको छ भने १ करोड चालिस लाख भन्दा धेरै सङ्क्रमित भएका छन् ।
सबभन्दा ज्यादा प्रभावित देश अमेरिकामा यतिबेला ३६ लाख ४१ हजारभन्दा धेरै व्यक्ति सङ्क्रमित छन् भने मत्यु हुनेको सङ्ख्या १ लाख ३९ हजार नाघिसकेको छ । दोस्रो ज्यादा प्रभावित मुलुक ब्राजिलमा २० लाख सङ्क्रमित छन् भने ७७ हजार ८ सय ५१ व्यक्तिले त्यहाँ ज्यान गुमाएका छन् ।
यसैबीच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि मास्क प्रयोगसम्बन्धी एक विवादास्पद अभिव्यक्ति दिएका छन् । उनले नागरिकलाई मास्क पहिरिन बाध्य या अनिवार्य गर्न नसकिने बताएका छन् । उनको यस्तो अभिव्यक्ति त्यति नै बेला आयो जब सङ्क्रामक रोगसम्बन्धी शीर्ष अमेरिकी विज्ञ डा. एन्थोनी फाउचीद्वारा प्रान्तीय तथा स्थानीय नेताहरूसँग आ–आफ्नो क्षेत्रका नागरिकहरूलाई मास्क पहिरिन लगाउन यथासक्य प्रयास गर्न आग्रह गरिएको थियो ।
मुखमा मास्क पहिरिनु अत्यन्त महत्वपूर्ण भएकोले सबैले यो विधि अवलम्बन गर्नुपर्ने डा. फाउचीको सुझाव छ ।
अमेरिकामा मास्क पहिरिने विषय एक राजनीतिक मुद्दा नै बनेको छ । राष्ट्रपति ट्रम्प मास्क पहिरिनुबाट पन्छिँदै आएका भए पनि बितेको साता उनी मास्क पहिरिएर सार्वजनिक भएका थिए । तर, शुक्रबार (१७ जुलाई) उनले फक्स न्युजसँग कुराकानी गर्दै मानिसहरूलाई मास्क पहिरिन बाध्य तुल्याउने पक्षमा आफू नरहेको बताएका छन् । मानिसलाई एक निश्चित स्वतन्त्रता मिल्नुपर्ने उनको तर्क छ ।
अमेरिकामा संक्रमण बढिरहेको र यत्तिका मानवीय क्षति पुगेको परिवेशमा राष्ट्रपति ट्रम्पको ‘मास्क-अभिव्यक्ति’को आलोचना गरिएको छ ।
प्रतिक्रिया