कोरोनाको जोखिम घटेलगत्तै चीनमा ‘चलचित्र महोत्सव’ आयोजना गरिँदै

कोरोनाको जोखिम घटेलगत्तै चीनमा ‘चलचित्र महोत्सव’ आयोजना गरिँदै


कोरोनाको त्रासका कारण महिनौदेखि बन्द रहेका चीनका चलचित्र हल फेरि खुल्न थालेका छन् । चलचित्र हेर्नका लागि सोमबार (२० जुलाई) धेरैले टिकट काटेको चिनियाँ चलचित्र अधिकारीले जानकारी दिएका छन् । सिन्ह्वाका अनुसार हल सञ्चालन गर्न र टिकट काट्न अधिकारीले अघिल्लो हप्ता सूचना जारी गरेका थिए ।

कोरोना भाइरसको जोखिम कम भएका ठाउँमा हल खोल्न र सञ्चालन गर्दा उच्च सतर्कता अपनाउन सूचनामा आग्रह गरिएको थियो । सरकारी अधिकारीको आग्रहअनुसार सिन्च्याङ, साङ्घाई, बेइजिङलगायतका ठाउँमा चलचित्र हल सञ्चालनमा आउन थालेका हुन् ।

देशको पूर्वीसहर साङ्घाईमा त आगामी शनिबार साङ्घाई अन्तरराष्ट्रिय चलचित्र महोत्सव समेत शुरु हुने भएको छ । त्यसका लागि सोमबार विहान टिकट खुल्ला गरेको दश मिनेटमै एक लाख टिकट बिक्री भएको बताइएको छ ।

अहिले खुल्ला गर्न नसकिएका कतिपय ठाउँमा खुल्ला गराउनका लागि तयारी पनि भइरहेको जनाइएको छ । चीनका अधिकांश स्थानलाई कम जोखिम भएका क्षेत्रका रूपमा वर्गीकरण गरिएका कारण देशभरिका धेरै ठाउँका चलचित्र हल खुल्ने देखिएको छ ।

गत जनवरीदेखि शुरु भएको लकडाउनले चीनका चलचित्र हलहरु नराम्ररी प्रभावित भएका छन् भने केही बन्द भएका छन् । अब खुल्ला गर्न लागिएका चलचित्र हलमा कुल क्षमताको ३० प्रतिशत मात्रै दर्शक राख्नुपर्ने र पहिले देखाउने गरेको भन्दा आधा सङ्ख्यामा मात्रै चलचित्र देखाउन पाइने नियम बनाइएको छ ।

त्यसैगरी मास्क लगाउनुपर्ने, सामाजिक दुरी कायम गर्नुपर्ने, शरीरको तापक्रम नाप्नु पर्नेलगायतका नियम पनि कडाइका साथ लागु गर्न भनिएको छ । यस्तो नियम टिकट काट्दा, हलभित्र र वाहिर गर्दा र भित्र बस्दा समेत अप्नाउनु पर्ने बनाइएको छ ।