जापानद्वारा यात्रा-प्रतिबन्ध लगाइएका देशको सूचीमा नेपालको नाम थपियो

जापानद्वारा यात्रा-प्रतिबन्ध लगाइएका देशको सूचीमा नेपालको नाम थपियो


विशेष प्रतिनिधि, टोकियो (जापान)

जापानले नेपालबाट जापान आउन प्रतिबन्ध लगाएको छ । कोरोना भाइरसको बढ्दो संक्रमणलाई रोक्न विभिन्न उपायहरु अपनाइरहेको जापानले ९ साउन (२४ जुलाई) देखि लागू हुने गरी यात्रा-प्रतिबन्ध लगाएको हो ।

यहाँको कानून मन्त्रालयले आफ्नो वेवसाइटमा बुधबार एक सूचना प्रकाशित गरी प्रतिबन्ध लागेका देशहरुको सूचीमा नेपालको नामसमेत थप गरेको छ ।

अमेरिका, चीन, भारतसहित युरोपका सबै देश तथा अन्य क्षेत्रहरुमा प्रतिबन्ध लगाएको जापानले पछिल्लो समय प्रतिबन्ध लगाएका देशहरुमा नेपालसहित प्लालेष्टाइन, बोत्स्वाना, कोमोरोस, लाइबेरिया, लिबिया, मदगास्कर, निमिबिया, पाराग्वे, गणतन्त्र कंगो, सियरालियोन, सोमालिया, सुडान, सुरीनामे र उज्बेकिस्तान लगायत छन् ।

केही दिनअघि मात्र नेपालसहित विभिन्न १७ देशमा यात्रा नगर्न आफ्ना नागरिकलाई यात्रा-चेतावनी जारी गरेको जापानले राष्ट्रिय सुरक्षा परिषद्सँगको छलफल पछि यो निर्णय लिएको हो ।

यात्रा-प्रतिबन्ध लागेसँगै अब नेपालबाट आउन चाहाने तथा विदामा नेपाल गएर आउन नपाएका नेपालीहरु प्रत्यक्ष प्रभावित भएका छन् ।

प्रतिबन्ध लागू भएपश्चात १४ दिनभित्र नेपाल यात्रा गरेका विदेशीहरुलाई समेत जापानमा प्रवेश दिइने छैन । जापानी नागरिकहरुलाई भने सीमित नियमहरुको पालना गर्ने सर्तमा प्रतिबन्ध लागेका देशहरुबाट आउन पाउने नियम छ ।