कर्मचारी कटौती गर्ने एअर बसको निर्णयको विरोधमा प्रदर्शन

कर्मचारी कटौती गर्ने एअर बसको निर्णयको विरोधमा प्रदर्शन


युरोपियन विमान कम्पनी एअरबसमा एक हजार ६०० रोजगारीका अवसर कटौतीको विषयलाई लिएर बिहीबार स्पेनभरी हजारौँ एयरबस कर्मचारीहरूले प्रदर्शन गरेका छन् ।

यद्यपि सयौँ रोजगारी कटौती गर्ने घोषणा महामारी सुरूभएपछि फेब्रुअरीमा पहिलो पटक घोषणा गरिएको थियो । तर कोरोना भाइरस महामारीले कम्पनी निकै प्रभावित बनेपछि जुनको अन्त्यमा घटाउने पदहरूको सङ्ख्या दोब्बर हुने घोषणा गरिएको छ ।

स्पेनको राजधानी म्याड्रिडको दक्षिणी क्षेत्रमा रहेको गेटाफेमा मास्क लगाएका सयौँ प्रदर्शनकारीहरूले विमानको कार्यालय र स्थानीय शहरको हलको मध्य क्षेत्रमा प्रदर्शन गरेका थिए ।

उनीहरूले कसैले पनि जागिर नछोड्ने पद खारेज गर्न नपाइने भावका नाराहरू लेखिएका ब्यानरसहित जुलुसमा सहभागी बनेका थिए ।

जुनको अन्त्यमा एयरबसले विश्वभर आफ्ना १५ हजार कर्मचारीलाई कटौती गर्ने योजना बनाइरहेको बताएको थियो भने यसमध्ये स्पेनमा ८८९ कर्मचारी हटाउने एअरबसले जनाएको छ ।

एअरबसले महामारीको प्रतिक्रियास्वरूप कूल जनशक्तिको ११ प्रतिशत कर्मचारीलाई घटाउन लागेको बताउँदै आएको छ ।

“मलाई थाहा छ यो गाह्रो अवस्था हो तर एयरबस जस्ता प्रसिद्ध कम्पनीबाट कर्मचारीमाथि यस किसिमको निर्मम निर्णय आउँछ भन्ने मलाई लागेको थिएन,” एक एअरबसका ३६ वर्षीय इञ्जिनियर जेभियर पयाले भनेका छन् ।

एरोस्पेस क्षेत्रका लागि राज्य सहायताको माग गरिरहेका श्रमिक आयोग युनियनका अगस्टिन मारिनले भने, ‘महामारीका कारण सिर्जना भएको आर्थिक समस्याका कारण कसरी रोजगार र उच्चस्तरीय उत्पादन प्रणालीलाई प्रभावित पार्छ भन्ने कुरा हामी बुझ्न सक्दैनौँ ।’

एयरबसले स्पेनभरि करिब १२ बजार ३०० जनालाई रोजगार प्रदान गरेको छ तर युनियनका प्रतिनिधिहरूले एरोस्पेस कम्पनीले प्रत्यक्ष तथ अप्रत्यक्ष रूपमा स्पेनमा एक लाख व्यक्तिलाई रोजगारी दिएको दाबी गरेका छन् ।

एएयरबसका प्रवक्तालाई एएफपीले जनाएअनुसार २ जुलाईदेखि युनियनहरूसँग वार्ता सुरु भएको र समाधानहरू खोज्ने पहल भइरहेको तथा महामारीबाट थला परेको उद्योगलाई जोगाउँदै न्यूनतम रोजगारी कटौतीका लागि सहमति निकालिने छ ।