फ्रान्स प्रवेश गर्ने १६ देशका आगन्तुकलाई परीक्षण अनिवार्य

फ्रान्स प्रवेश गर्ने १६ देशका आगन्तुकलाई परीक्षण अनिवार्य


कोरोना भाइरसको दृष्टिले धेरै जोखिममा रहेका देशहरुबाट फ्रान्स प्रवेश गर्नेहरुलाई परिक्षणविना प्रवेश गर्न कडाई गरिने भएको छ । प्रधानमन्त्री जेन कस्टेक्सले यो व्यवस्था आगमी अगस्ट १ देखि लागु हुने जानकारी गराएका छन् ।

सिमानामा सुरक्षा र सतर्कता कायम राख्ने सरकारको नीतिअन्तर्गत परीक्षणलाई कडाई गर्ने व्यवस्था गर्न लागिएको प्रधानमन्त्री कस्टेक्सको भनाई छ । उनको भनाई उद्धृत गर्दै सिन्ह्वाले जनाएअनुसार अमेरिका, ब्राजिल, भारत, अल्जेरिया, बहराईन, इजरायल, दक्षिण अफ्रिका, कुवेत, कतार, युएई, ओमन, पनामा, पेरु, सर्बिया, टर्की र मडागास्करबाट आउने यात्रुलाई परीक्षण अनिवार्य गर्न लागिएको हो ।

फ्रान्सले ती देशहरुलाई कोरोनाको दृष्टीकोणले खतरापूर्ण अवस्थामा रहेका देशहरुको सूचीमा राखेको अधिकारीहरुले जनाएका छन् ।

“ती देशहरुमा परीक्षण नगर्ने रणनीति लिइएको छ । त्यसैले हामीले परीक्षण गर्नु पर्ने व्यवस्था गर्न लागिएको हो । यो कार्यान्वयन गर्न धेरै गाह्रो छ भन्ने हामीलाई थाहा छ । तै पनि गर्ने निर्णयमा पुगेको छौँ,” उनले भनेका छन् ।

सिमाना जोडिएको स्पेनबाट हुने आवतजावतलाई कसरी सुरक्षित बनाउने भन्ने बारेमा छलफल भइरहेको र आवत जावतलाई अति न्युन बनाउने प्रयास गरिने पनि प्रधानमन्त्री कस्टेक्सले जानकारी दिएका छन् ।

फ्रान्समा शुक्रबारसम्म एक लाख ८० हजार ५२८ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । ती मध्ये एकैदिनमा एक हजार १३० जना थपिएको अधिकारीहरुले जनाएका छन् । यो संख्या एक दिन अगाडी एक हजार ६२ मात्रै रहेको थियो ।

ज्ञातव्य छ, फ्रान्समा कोरोना भाइरसका कारण अहिलेसम्म ३०,१९२ जनाको मृत्यु भएको छ । ती मध्ये दश जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।