इरान सरकारका प्रवक्ता अलि रबिलाई कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि गरिएको छ । कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएपछि उनले नियमित साप्ताहिक पत्रकार सम्मेलन समेत स्थगित गरेका छन् ।
उनलाई थप उपचारका लागि अस्पताल लगिएकाले पनि पत्रकार सम्मेलन हुन नसकेको सम्बद्ध अधिकारीहरुले जनाएका छन् । प्रवक्ता रबि कोरोना भाइरसबाट सङ्क्रमित भएको अधिकारीहरुले पुष्टि गरेको इरानको सरकारी सञ्चार संस्था आइआरएनएले जनाएको छ ।
उनको उपचारमा संलग्न चिकित्सकहरुले सङ्क्रमण भएपनि खतरा नरहेको र उनको अवस्था सन्तोषजनक नै रहेको जानकारी दिएका छन् ।
इरानमा गत फेब्रुअरीको १९ तारिखदेखि अहिलेसम्म कोरोना भाइरसबाट दर्जनौँ राजनीतिज्ञहरु सङ्क्रमित भएका छन् ।
सोमबार (२७ जुलाई) सम्म इरानमा कोरोना भाइरसबाट कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ९३ हजार ६०६ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।
त्यसैगरी कोरोना भाइरसकै कारण इरानमा अहिलेसम्म १५ हजार ९१२ जनाको मृत्यु भएको पनि सरकारी तथ्याङ्क छ ।
प्रतिक्रिया