पाकिस्तानको उत्तरी क्षेत्र गिलगित बाल्टिस्तानमा भएको सशस्त्र झडपमा पाँच प्रहरीसहित सात जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
मङ्गलबार (२८ जुलाई) बिहानै दिमर जिल्लाको रोनाई क्षेत्रमा प्रहरीले सूचनाका आधारमा आपराधिक समूहका केही व्यक्तिको खोजी गर्ने क्रममा प्रहरीमाथि आक्रमण गरिएको पाकिस्तानी अधिकारीलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ । घटनामा अन्य सुरक्षाकर्मी पनि घाइते भएका स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । घटनास्थलमा तत्कालै प्रहरीको अर्को टोली खटाई मृतक सुरक्षाकर्मी र अन्य दुई सर्वसाधारण शवलाई अस्पताल पुऱ्याइएको थियो ।
उक्त क्षेत्रलाई घेरा हाली प्रहरीले आक्रमणकारी समूहको खोजी गरिरहेको बताइएको छ । यद्यपि आक्रमणकारी घटनास्थलबाट भागेकोले समाचार तयार पार्दासम्म आक्रमणकारीलाई सुरक्षाकर्मीले पक्राउ गर्न नसकेको बताइएको छ ।
घटनाको कुनै समूह वा व्यक्तिले जिम्मेवारी लिएको छैन ।
प्रतिक्रिया