भारतको उत्तर प्रदेशमा कोरोना संक्रमणबाट मन्त्रीको मृत्यु

भारतको उत्तर प्रदेशमा कोरोना संक्रमणबाट मन्त्रीको मृत्यु


भारतमा प्रदेश मन्त्री कमल रानी वरुणको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ । उत्तर प्रदेशकी मन्त्री रानीको निधन भएको प्रदेश सरकारका प्रवक्ताले पुष्टि गरेका छन् ।

मन्त्री वरुणसँगै भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण ८५३ जनाको मृत्यु भएको छ । कुल मृतकको संख्या भने ३७ हजार ३६४ पुगेको बताइएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ५४ हजार ७३६ जना सङ्क्रमित भएका छन् । योसँगै कुल सङ्क्रमितको संख्या साढे १७ लाखभन्दा बढी पुगेको छ ।

विश्वभरी ६ लाख ८९ हजारको मृत्यु

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण आइतबार दिउँसो (२ अगस्ट) सम्म कुल मृतकको संख्या ६ लाख ८९ हजारभन्दा बढी पुगेको छ ।

सम्बद्ध अधिकारीहरुले दिएको जानकारीअनुसार कोरानाका कारण कुल मृतकको संख्या ६ लाख ८९ हजार ७० पुगेको हो । त्यसैगरी कुल सङ्क्रमितको संख्या पनि एक करोड ८० लाख ३३ हजार २७९ पुगेको पछिल्लो तथ्यांकमा उल्लेख गरिएको छ ।

सबैभन्दा धेरै सङ्क्रमित र मानवीय क्षति अमेरिकामा भएको छ भने दोस्रो धेरै प्रभावित ब्राजिलमा देखिएको छ ।

पछिल्लो विवरण अनुसार अमेरिकामा कुल सङ्क्रमितको संख्या ४७ लाख ६४ हजार ५ सय २२ पुगेको छ । त्यसैगरी यहाँ कुल मृतकको संख्या एक लाख ५७ हजार ९०१ पुगेको बताइएको छ ।

दोस्रो धेरै प्रभावित भएको ब्राजिलमा २७ लाख आठ हजार ८७६ जना सङ्क्रमित भएका छन् भने ९३ हजार ६१६ जनाको मृत्यु भएको छ ।