भलिबल खेलाडीको कोरोना बीमा गरिने

भलिबल खेलाडीको कोरोना बीमा गरिने


लक्ष्मीनारायण श्रेष्ठ मेमोरियल ट्रष्टले नेपाली राष्ट्रिय महिला तथा पुरुष भलिबल टोलीको खेलाडीको कोरोना बीमा गरिदिने भएको छ । ट्रष्टले नेपालमा गत वर्ष मङ्सिरमा सम्पन्न भएको १३औँ दक्षिण एसियाली खेलकूद (साग) खेलेका महिला तथा पुरुष खेलाडीको बीमा गर्न लागेको हो ।

खेलाडीको आत्मबल बढाउने उद्देश्यले कोरोना बीमा गर्न लागेको ट्रष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । खेलाडीमा सानो भए पनि बीमाबाट राहत मिल्ने ट्रष्टले जनाएको छ ।

खेलाडीको कोरोना बीमा स्वागतयोग्य कुरा भएको नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले बताए । खेलाडीको कोरोना बीमा अहिलेको आवश्यकता हो, ट्रष्टले यो सराहनीय काम गरेको छ– उनको प्रतिक्रिया छ ।

खेलाडीको प्रशिक्षण भने तत्काल सम्भव नभएको उनले जानकारी दिए । खेलाडीको प्रशिक्षण सरकारी निर्णय र कोरोना सङ्क्रमणको अवस्थामा निर्भर रहेको महासचिव चन्दले बताए ।

तेह्रौँ सागमा नेपाली महिला भलिबल टोलीले रजत पदक प्राप्त गरेको थियो । परुष भलिबल टोली भने समूह चरणबाटै बाहिरिएको थियो । हाल भलिबल खेलाडीहरू आ–आफ्नै ठाउँमा घरमै शारीरिक व्यायाम गरिरहेका बताइएको छ ।