अफगानिस्तानमा भएको सुरक्षा कारबाहीका क्रममा कम्तीमा २१ जना तालिवान लडाकूहरुको मृत्यु भएको छ ।
अफगानिस्तानका दुई प्रान्तमा शनिबार (१५ अगस्त) भएका घटनामा परी थप सात जना घाइते पनि भएको अधिकारीहरुले जनाएका छन् । घटनाका बारेमा अफगान विषेश सुरक्षा बलले आइतबार पुष्टि गरेको छ ।
बड्घीस प्रान्तमा १२ जना मारिएका हुन् भने अर्का एक जना घाइते भएका हुन् । त्यहाँ सुरक्षाकर्मीहरुले हवाई आक्रमण गरेका थिए । पहिलो आक्रमण क्वाडीस जिल्लाको क्वार्चाघी गाउँमा भएको अफगान राष्ट्रिय सैनिक विषेश बलको टोलीले जनाएको छ ।
घटनाका क्रममा स्थानीय गाउँलेतर्फ र सुरक्षाकर्मीतर्फ भने कुनै क्षति नभएको पनि सुरक्षा अधिकारीहरुले दाबी गरेका छन् ।
त्यसैगरी अर्को घटना गजनी प्रान्तमा भएको हो । त्यहाँ नौ जना मारिएको र अरु ६ जना घाइते भएको सुरक्षा निकायलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ । आन्द्र जिल्लाको चाहर डेवार भन्ने ठाउँमा भएको जनाइएको छ ।
अफगानिस्तानमा सरकारी सुरक्षाकर्मीहरुले देशका विभिन्न ठाउँमा सुरक्षा कारबाही चलाउँदै आएका छन् । पछिल्ला दुवै घटनाका बारेमा तालिवान विद्रोहीहरुको तर्फबाट भने अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।
प्रतिक्रिया