सेनाको नियन्त्रणमा परेपछि मालीका राष्ट्रपतिद्वारा राजीनामा

सेनाको नियन्त्रणमा परेपछि मालीका राष्ट्रपतिद्वारा राजीनामा


मालीका राष्ट्रपति इब्राहिम बौबाकर केयटाले आफ्नो पदबाट राजीनामाको घोषणा गरेका छन् । उनलाई आफ्नै सेनाले नियन्त्रणमा लिएको बताइएको थियो ।

सेनाद्वारा नियन्त्रणमा राखिएको भनिएको केही घण्टापछि बुधबार (१९ अगस्ट) बिहान उनले राजीनामा दिएको सामाचार सार्वजनिक भएको हो ।

राष्ट्रपति केयटाले मुलुकमा रक्तपात हुन नदिनका लागि आफूले राजीनामा दिएको बताएका अल जजिराद्वारा प्रेषित समाचारमा उल्लेख छ ।

‘आज सेनाले हस्तक्षेपको आवश्यकता रहेको निर्णय गरेछ, त्यसपछि मैले आफू शक्तिमा रहनका लागि रक्तपातपूर्ण अवस्था रोज्ने कि शक्तिमा नभए पनि शान्ति रोज्ने भन्ने विकल्प आयो, मैले शान्तिपूर्ण बाटो रोजेको छु,’ उनले भनेका छन् ।

मालीको राष्ट्रिय टेलिभिजनले केयटाले पद त्यागको घोषणा गर्दै सरकार र संसद् पनि भङ्ग गरेको समाचार प्रसारण गरेको छ । यसअघि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेर्रेसले राष्ट्रपति इब्राहिमलाई तत्काल सैन्य नियन्त्रणबाट मुक्त गर्न माग गरेका थिए । विनासर्त तत्कालै उनलाई रिहा गर्न महासचिव गुटेर्रेसको दबाब थियो ।

राष्ट्रपति सँगसँगै सैन्य नियन्त्रणमा परेका मालीका प्रधानमन्त्री बौबौ किसलाई पनि उनले विनासर्त मुक्त गर्न माग गरेका थिए ।

अन्य क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संगठन र केही देशहरुले पनि मालीमा भएको सैन्य विद्रोहप्रति चिन्ता व्यक्त गर्दै संवैधानिक व्यवस्थाको पुनर्बहालीका लागि आग्रह गरेका छन् । मालीको सेनाले मंगलबार अबेर विद्रोह गरेर उनीहरुलाई नियन्त्रणमा लिएको हो भने राजधानीलगायतका मुख्य मुख्य ठाउँहरुमा सुरक्षा व्यवस्था कडा बनाएको एएनआईले जनाएको छ ।

सैन्य अधिकारीहरुले राष्ट्रपति, प्रधानमन्त्रीसँगै केही मन्त्री र उच्च सरकारी अधिकारीहरुलाई पनि नियन्त्रणमा लिएको समाचार छ ।

लामो समयदेखि सरकारले सेनाका गुनासाहरुलाई सम्बोधन नगरेका कारण सैन्य विद्रोहको अवस्था सिर्जना भएको बताइएको छ । पश्चिम अफ्रिकी देश मालिमा पछिल्लो केही समयदेखि सरकारप्रति चरम असन्तुष्टि व्यक्त गर्दै ठूला ठूला प्रदर्शन निरन्तर भइरहेका थिए ।

धार्मिक अगुवा महमुद डिक्कोको नेतृत्वमा भएका ठूला प्रदर्शनहरूमा राष्ट्रपतिको राजीनामा माग गरिएको थियो । प्रदर्शनकारीहरुले राष्ट्रपति केयटाका कारण देशमा भ्रष्टाचार, अर्थतन्त्रको खराब व्यवस्थापन, सुरक्षा अवस्था र बढ्दो जातीय हिंसा बढीरहेको आरोप पनि लगाएका छन् ।

केयटा दोस्रो कार्यकालका लागि सन् २०१८ मा चुनावबाट मालीको राष्ट्रपतिमा निर्वाचित भएका थिए ।