‘भारतका पूर्वराष्ट्रपति मुखर्जीको स्वास्थ्य अवस्था झन् कमजोर’

‘भारतका पूर्वराष्ट्रपति मुखर्जीको स्वास्थ्य अवस्था झन् कमजोर’


भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था ह्रासोन्मुख देखिएको भारतीय राजधानी नयाँ दिल्लीमा रहेको आर्मी रिसर्च एण्ड रिफरल हस्पिटलले जनाएको छ ।

भारतीय पूर्वराष्ट्रपति मुखर्जी केही समयअघि सो अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँ अहिले पनि उपचाररत हुनुहुन्छ ।

पछिल्ला केही दिनमा उहाँको स्वास्थ्य अवस्था झन् कमजोर बन्दै गएको उक्त सैनिक जनाएको छ । उक्त अस्पतालले दिएको जानकारीअनुसार बुधबार उहाँलाई फोक्सोमा सङ्क्रमण देखिएको छ ।

फोक्सोमा देखिएको सङ्क्रमणका कारण उहाँको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको सो अस्पतालले बुधबार प्रकाशन गरेको विज्ञप्तिमा जनाएको छ । एएनआईले जनाएअनुसार उहाँलाई अहिले पनि भेन्टिलेटरमा राखेर उपचार गरिएको छ । अवस्था झन् कमजोर हुँदै गएपछि उहाँलाई भेन्टिलेटरबाट झिक्ने अवस्था नरहेको पनि सो अस्पतालले जनाएको छ ।

पूर्वराष्ट्रपति मुखर्जीलाई यही अगष्ट १० मा सो अस्पतालमा भर्ना गरिएको थियो । त्यस लगत्तै उहाँको मष्तिष्कको शल्यक्रिया गरिएको थियो ।

शल्यक्रियाको केही दिनपछि उहाँलाई कोरोना भाइरस पोजेटिभ देखिएको थियो । त्यसपछि उहाँलाई भेन्टिलेटरमा राखेर उपचार गराइएको बताइएको छ ।

केही दिन अघि पनि सो अस्पतालले उहाँको स्वास्थ्य अवस्था कमजोर र स्थिर रहेको बताएको थियो । बुधबार (१९ अगस्त) बिहान मात्र पनि पूर्वराष्ट्रपति मुखर्जीका छोरा अभिजित मुखर्जीले भने आफ्नो बुबाको स्वास्थ्य अवस्थामा सुधार आएको बताउनुभएको थियो । उहाँले ट्वीट गरेर आफ्नो बुबाको स्वास्थ्य अवस्थामा केही सुधार आएको भन्दै सो अस्पतालका चिकित्सकलाई धन्यवाद दिनुभएको थियो ।