समर युनिभर्सियाडको काउन्टडाउन सुरु

समर युनिभर्सियाडको काउन्टडाउन सुरु


समर युनिभर्सियाड गेम्सको ३१औँ संस्करण सुरु हुन एक वर्ष बाँकी छँदा अहिलेदेखि नै काउन्टडाउन शुरु भएको छ । यसै सन्दर्भमा गत मंगलबार (२ भदौ) विश्वविद्यालय खेलकुद संघ नेपालले एक कार्यक्रमको आयोजना गरेको छ ।

राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोइराला र सदस्य सुभास श्रेष्ठले संयुक्त रूपमा कार्यक्रमको आरम्भ गरे । विगतमा वर्ल्ड युनिभर्सिटी समर गेम्स (फिसु) ले मात्र खेल सुरु हुन एक वर्ष बाँकी रहँदा कार्यक्रम गर्ने प्रचलन रहेकामा यस वर्षदेखि १ सय ७७ सदस्य राष्ट्रलाई कार्यक्रम आयोजना गर्न फिसुले पत्रचार गरेको विश्वविद्यालय खेलकुद संघ नेपालका महासचिव पूर्णसिं बोहराले जानकारी दिए । फिसुको मुख्यालय स्विट्जरल्यान्डको लुजानमा छ ।

गेम्स चीनको छेङ्दुमा अगष्ट १८ देखि २९ तारिखसम्म हुने कार्यक्रम छ । दुई वर्षको अन्तरालमा हुने गेम्सको गत संस्करणमा नेपालले तेक्वान्दो र फेन्सिङमा सहभागिता जनाएको थियो । गत संस्करण इटालीको नेपोलीमा भएको थियो ।

कार्यक्रममा विश्वविद्यालय खेलकुद संघ नेपालका अध्यक्ष प्रदीप जोशी, सदस्य मदन कार्की, राखेपअन्तर्गत कानुन शाखाका प्रमुख नारायणराज अर्याल र विश्वविद्यालय खेलकुद संघ नेपालअन्तर्गत टेबलटेनिसका संयोजक कुवेर सिंहको उपस्थिति थियो । कोरोनो भाइरस (कोभिड– १९) का कारण थोरैको उपस्थितिमा कार्यक्रम गरिएको महासचिव बोहराले बताए ।