रुस सरकारका कडा आलोचक तथा विपक्षी अगुवा एलेक्सी नाभाल्नी अस्पताल भर्ना गरिएका छन् । शंकास्पद रुपमा विषाक्त पदार्थको सेवन गरेपछि उनलाई अस्पताल भर्ना गरिएकोबताइएको छ ।
बताइएअनुसार भ्रष्टाचारविरुद्धको फाउन्डेसनका सञ्चार सचिव किरा यर्मयशले दिएको जानकारीअनुसार बिहीबार (२० अगस्ट) बिहान टम्सकबाट मस्को फर्किरहेका बेलादेखि उनले असहज महसुस गरेका थिए ।
उनले उडानकै बेलामा अप्ठ्यारो महसुस गरेका र ओम्स्कमा विमान आकस्मिक अवतरण गरिएको सञ्चारसचिव किराले बताएका छन् ।
उनले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै विपक्षी अगुवा नाभाल्नीलाई विषाक्त खाद्यान्नका कारण समस्या भएकाले अस्पताल भर्ना गरिएको जानकारी दिएका छन् ।
अवस्था जटिल भएपछि उनलाई अहिले अति सघन उपचार कक्ष (आइसियु)मा राखेर उपचार गराइएको रुसी अधिकारीहरुले जनाएका छन् ।
ओम्स्क विमानस्थलले पनि एक जना हवाई यात्रुको स्वास्थ्य अवस्थामा समस्या उत्पन्न भएपछि ती यात्रु रहेको विमान आकस्मिक अवतरण गरिएको पुष्टि गरेको छ ।
प्रतिक्रिया