सुलेमानीको नाममा इरानद्वारा नयाँ ब्यालिस्टिक मिसाइल सार्वजनिक

सुलेमानीको नाममा इरानद्वारा नयाँ ब्यालिस्टिक मिसाइल सार्वजनिक


इरानले जनवरीमा अमेरिकी ड्रोन हमलामा मारिएका कुर्दिस बलका कमाण्डर जनरल कसिम सुलेमानीको नाममा नयाँ ब्यालिस्टिक मिसाइल ल्याएको छ ।

उक्त हतियार सार्वजनिक इरानको राष्ट्रिय प्रतिरक्षा उद्योग दिवस (अगस्ट २२) को अवसरमा बिहीबार बिहान सार्वजनिक गरिएको हो । राज्यको टेलिभिजनले प्रसारण गरेको उक्त कार्यक्रममा रक्षामन्त्री अमीर हतामीले यसलाई विशेष गरी ब्यालेस्टिक क्षेप्यास्त्रतर्फ इरानको पछिल्ला सैन्य उपलब्धि भएको बताएका छन् ।

व्यालेस्टिक मिसाइलको नाम अमेरिकी आक्रमणमा मारिएका पूर्वजनरल सुलेमानी र अर्को क्रुज मिसाइलको नाम अबू मेहदी राखिएको रक्षामन्त्री हतामीले बताएका छन् । बग्दादनजिक जनरल सुलेमानीसँगै इराकका शिया मिलिशियाका उप–कमाण्डर अबु महदी मुहान्डिस पनि मारिएका थिए र पछिल्ला यी हतियारको नाम पनि उनीहरूको सम्मानमा उनीहरूकै नाममा राखिएको बताइएको छ ।

कसिम सुलेमानी मिसाइलले १४०० किलोमिटर टाढासम्म र अबु महदी मुहंडिस मिसाइलले एक हजार किलोमिटरसम्मको आक्रमण गर्ने क्षमता रहेको इरानी रक्षामन्त्रीको दाबी छ । उक्त अवसरमा इरानले घरेलु रूपमा निर्मित ड्रोनको पनि प्रदर्शन गरिएको थियो ।

‘इरानी हतियार सजिलै पुनःउत्पादन गर्नसकिने, पर्याप्त शक्ति भएका र लक्ष्यलाई सहजै परिवर्तन गर्नसक्ने उच्च गुण सम्पन्न हुनपर्छ’– राष्ट्रपति हसन रौहानीले आफ्नो सम्बोधनमा रक्षा उद्योगमा भएको प्रगतिलाई जोड दिँदै भनेका छन् ।

राष्ट्रिय प्रतिरक्षा उद्योगले कुनै आक्रामणको रणनीतिभन्दा रक्षाको रणनीति अपनाएको छ र देशले कुनै पनि इलाका ओगट्न वा कुनै पनि देशलाई हानि पु¥याउने लक्ष्य नराखेको राष्ट्रपति रौहानीले बताएका एएनआईले जनाएको छ ।