उत्तर कोरियाका शीर्ष नेता किम जोंङ–उनले आफ्ना निकट एवम् परिजनहरूलाई ज्यादा शासकीय अधिकार प्रदान गर्न थालेका छन् । यस क्रममा उनले आफ्नी बहिनी किम यो–जोङलाई अत्यन्त महत्वपूर्ण जिम्मेवारी सुम्पिएको दक्षिण कोरियाको गुप्तचर एजेन्सीले दाबी गरेको छ ।
उक्त एजेन्सीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार किम जोङ–उनसँग अझै पनि उत्तर कोरियाको ‘पूरै शक्ति’ रहेको छ, तर आफूमाथिको कार्यबोझको ‘अत्यधिक दबाब’ कम गर्न कैयन जिम्मेवारी आफ्ना निकटजनहरूलाई सुम्पिदिएका छन् ।
किम जोङ–उनकी बहिनी किम यो–जोङलाई अब ‘देशको सबै मामला हेर्ने हैसियत’ प्रदान गरिएको छ ।
यहाँनेर मनन गर्नु आवश्यक छ कि उत्तर कोरियाबारे दक्षिण कोरियाली गुप्तचर निकायले गरेका सबै दाबी सही भने हुने गरेका छैनन् ।
पछिल्लो दाबीअनुसार किम जोङ–उनले बहिनीलाई अमेरिका एवम् दक्षिण कोरियासम्बन्धी नीति तय गर्नेलगायत बाँकी अन्य महत्वपूर्ण नीति निर्धारणका मामलासमेत सुम्पिएका छन् भने यो–जोङलाई दोस्रो शीर्ष नेताको ओहदा प्रदान गरिएको छ ।
किमले यस्तो फैसला आफ्नो कार्यबोझ कम गर्नुका साथै कुनै नीति असफल या प्रत्युत्पादक भएमा त्यसको अपयश आफूले ब्यहोर्नु नपरोस् भन्ने सोचले गरेका एजेन्सीको भनाई छ ।
ज्ञातव्य छ, हालै मात्र एनके न्युज वेवसाइटले यस्तो समाचार प्रकाशन गरेको थियो जसअनुसार पछिल्लो पटक बसेको देशको अत्यन्त महत्वपूर्ण बैठकमा किम जोङ उपस्थित थिएनन् ।यसबाट उनको शक्ति कटौती गरिएको अनुमान लगाइएको थियो ।
को हुन् किम यो–जोङ ?
किम यो–जोङ उत्तर कोरियाका शीर्ष नेता किम जोङकी एक मात्र बहिनी हुन् । सन् १९८७ मा जन्मिएकी उनी दाजु किमभन्दा चार वर्ष कान्छी छन् । दुवै दाजु–बहिनीले स्विटजरल्याण्डको बर्नमा सँगै अध्ययन गरेका थिए ।
यो–जोङ सन् २०१८ देखि खास चर्चामा आउन थालेकी हुन् । उक्त वर्ष शीतकालीन ओलम्पिक खेल महोत्सवमा सहभागिताको लागि मुलुुकको प्रतिनिधित्व गर्दै दक्षिण कोरिया पुग्ने किम वंशकै पहिलो सदस्यको रूपमा यो–जोङको ब्यापक चर्चा भएको थियो ।

यस्तै, आफ्नो दाजुको साथमा यो–जोङले अन्य विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनको लागि काम गरेकी छिन् । दक्षिण कोरियाका राष्ट्रपति मून जे–इन, चीनका राष्ट्रपति शी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जस्ता शीर्ष व्यक्तित्वहरूसँगको बैठकमा यो–जोङले सहभागिता जनाएर देशको ‘अहम्’ पात्रको रूपमा आफ्नो सार्वजनिक पहिचान बनाइसकेकी छिन् ।
हालसम्म उत्तर कोरियाको कुनै पनि अन्तिम निर्णय लिने अधिकार किम जोङ–उनसँगै रहे पनि बहिनी यो–जोङको तीव्रतर सत्ता–शिखरारोहणले कतै छिट्टै उनी देशकै प्रमुख शीर्ष नेताको भूमिकामा देखिने त होइनन् भन्ने चासो र अनुमान गरिन थालिएको छ ।
प्रतिक्रिया