एकै दिन साढे दुई लाख थपिए, विश्वभरी २ करोड २२ लाख संक्रमित

एकै दिन साढे दुई लाख थपिए, विश्वभरी २ करोड २२ लाख संक्रमित


महामारीका रुपमा विश्वभर फैलिएको कोरोना भाइरसबाट सङ्क्रमित भएका मानिसको संख्या दुई करोड २२ लाखभन्दा बढी भएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले दिएको जानकारीअनुसार विश्वभरीको कुल सङ्क्रमित संख्या दुई करोड २२ लाख ५६ हजार २२० पुगेको छ ।

ती मध्ये दुई लाख ६३ हजार ६०१ जना पछिल्लो २४ घण्टामा थपिएको पनि स्वास्थ्य संगठनले जनाएको छ ।

सोही अवधिमा अरु छ हजार ५५४ जनाको कोरोनाकै कारण मृत्यु भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । योसँगै अहिलेसम्म विश्वभरी कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या सात लाख ८२ हजार ४५६ पुगेको छ ।

विश्व स्वास्थ्य संगठनले गत मार्च ११ देखि विश्वभरी कोरोनाभाइरसको महामारी फैलिएको घोषणा गरेको थियो ।

भाइरसको सङ्क्रमण फैलिन नदिनका लागि सबैजसो देशहरुले लकडाउन समेतका अनेक उपायहरु अपनाए पनि प्रामाणिक औषधिको अभावमा सङ्क्रमित र मृत्यु भएकाहरुको संख्या दिनप्रतिदिन वृद्धि हुँदै गएको छ ।