नाभाल्नीको रगत र पिसाबमा विषको कुनै लक्षण नदेखिएको चिकित्सकको भनाइ

नाभाल्नीको रगत र पिसाबमा विषको कुनै लक्षण नदेखिएको चिकित्सकको भनाइ


रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रखर आलोचक एवम् विपक्षी नेता अलेक्सी नाभाल्नीको रगत र पिसावमा विषको कुनै सङ्केत नभेटिएको बताइएको छ ।

प्रारम्भिक रिपोर्टमा विषाक्त पदार्थ खुवाइएका कुनै सङ्केत नभेटिएको ओम्स्कस्थित आपतकालीन अस्पताल नम्बर १ का उप–प्रमुख चिकित्सक एनाटोली कालिनिचेन्कोले शुक्रबार (२१ अगस्ट) जानकारी दिएका हुन् ।

नाभाल्नीको अन्य परीक्षणहरू ओम्स्क र मस्कोमा अझै चलिरहेका रूसी चिकित्सकहरूले बताएका छन् ।

उपचारमा संलग्न चिकित्सक कालिनिचेन्कोले सञ्चारकर्मीहरूसँग भने– ‘हामी विषाक्तताको विभिन्न सम्भावना बारेमा अध्ययन गरिरहेका छौँ । आजसम्म गरिएको अध्ययनले रगत वा पिसाबमा कुनै विष वा तिनीहरूको उपस्थितिका कुनै सङ्केतहरू पत्ता लागेको छैन ।’

प्रभावशाली विपक्षी नेता नाभाल्नी साइबेरियन शहर तोम्स्कबाट मस्कोका लागि आइरहेका समय बिहीबार गम्भीर बिरामी भएको बताएपछि विमानलाई ओम्स्कमा आपतकालिन अवतरण गरिएको थियो । नाभाल्नीलाई अस्पतालमा भर्ना गरेपछि उनी तुरुन्तै बेहोस भएका थिउ, जसलाई अहिले भेन्टिलेटरमा राखिएको छ ।

रूसी भ्रष्टाचारविरोधि संस्थाले विपक्षी नेता नाभाल्नीले टोम्स्कको एयरपोर्टमा चिया पिएका र त्यसमा विषाक्त पदार्थ मिलाइएको आशङ्का गरेको छ । यद्यपि नाभाल्नीको उपचारमा संलग्न चिकित्सकहरूले नाभाल्नीको बिरामीको सम्भावित कारणमध्ये एउटा विषाक्तता भएको भए पनि अन्य समस्याहरूबारे पनि परीक्षण भइरहेको बताएका एएनआईले जनाएको छ ।