दक्षिण कोरियाद्धारा देशव्यापी कर्फ्यू जारी

दक्षिण कोरियाद्धारा देशव्यापी कर्फ्यू जारी


दक्षिण कोरियाले कोरोना भाइरस नियन्त्रणको लागि देशव्यापी निषेधाज्ञा (कर्फ्यू) घोषणा गरेको छ । कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि केही गतिविधिहरुमा देशभरी निषेधाज्ञा जारी गरिएको कोरियाली अधिकारीहरुले जनाएका छन् ।

सरकारले भेला हुन, रात्रीकालीन गतिविधिहरु गर्न, चर्च, खेलकुद तथा अन्य भीडभाड हुने ठाउँहरुका गतिविधिमा रोक लगाइएको छ । स्वास्थ्यमन्त्री पार्क नेउङ हुले शनिबार (२२ अगष्ट) देखि यस्ता गतिविधिहरुमा देशभर नै रोक लगाइएको जानकारी दिए ।

दक्षिण कोरियामा कोरोना भाइरसको सङ्क्रमण शनिबार थप ३३२ जनामा देखिएको पनि उनले बताए । नयाँ थपिएका सङ्क्रमित मध्ये अधिकांश राजधानी सोल महानगरपालिकाभित्र नै देखिएको पाइएको छ । दक्षिण कोरियामा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या पछिल्लो समय थप बढ्दै गएको पाइएको छ ।

सङ्क्रमण राजधानी बाहेक देशका अन्य ठूला सहरहरुमा पनि देखिएको त्यहाँका स्वास्थ्यमन्त्री हुले जानकारी दिए । कतिपय प्रतिबन्धात्मक व्यवस्थाहरु भने सरकारले यसअघि पनि लागु गरिसकेको छ । अहिले त्यसमा केही थप प्रतिबन्धहरु लगाइएको एपीले जनाएको छ ।