अमेरिकामा ल्यापटप लगायतका शैक्षिक सामग्री अभाव

अमेरिकामा ल्यापटप लगायतका शैक्षिक सामग्री अभाव


कोरोना भाइरसको सङ्क्रमण फैलिन थालेपछि उत्पन्न परिस्थितिका कारण अमेरिकामा ल्यापटपलगायतका शैक्षिक सामग्री सहजै प्राप्त गर्न समस्या भएको छ ।

विषेश गरेर अनलाइन कक्षा सञ्चालनका क्रममा आवश्यक पर्ने सामग्रीहरु सहजै पाउन गाह्रो भएको र पाए पनि निकै ढिलो मात्रै प्राप्त हुने गरेको उपभोक्ताहरुले बताएका छन् । यो समस्या धेरै महिना अगाडिदेखि अमेरिकाभर नै रहेको एक अनुसन्धानले देखाएको एपीले जनाएको छ ।

विश्वकै तीन ओटा ठूलो कम्युटर कम्पनीहरु लेनोभो, एचपी र डेलले समेत अनलाइन कक्षाका लागि आवश्यक सामग्रीहरु मागअनुसार उपलब्ध गराउन नसकिएको बताएका छन् । ती कम्पनी स्रोतका अनुसार बजारमा अहिले झण्डै ५० लाख ल्यापटपको माग रहेको र त्यो मागलाई सम्बोधन गर्न कठिनाइ भइरहेको छ ।

अमेरिकाले चिनियाँ सामान आयातकर्तामाथि लगाएको प्रतिबन्ध पनि समस्याको चुरो भएको पनि कतिपय व्यापारीहरूको बुझाई रहेको छ ।

क्यालिफोर्नियाको मोजाभस्थित मोरोङ्गो युनिफाइड स्कूल डिस्ट्रिक्टका सुपरिटेन्डेन्ट टोम बाउमगार्टनले भन्छन्, ‘यो अवस्था एक कलाकारलाई विना रङ चित्र बनाउन भनेजस्तो भएको छ । कुनै पनि बच्चा कम्प्युटर बिना सामाजिक दूरी कायम गर्दै पढ्न सक्दैन ।’

उक्त विद्यालयमा सबै आठ हजार विद्यार्थीलाई निःशुल्क खाजा वितरण गरिन्छ । दूर शिक्षाको लागि उनीहरूलाई कम्प्युटर चाहिन्छ ।

गत जुलाईमा पाँच हजार थान ‘लेनोभो क्रोमबुक्स’को माग गरिएको तर लेनोभोलाई निषेधित चिनियाँ सामानको प्रयोग गरेको भन्दै सरकारी निकायबाट आपूर्ति रोकियो, विकल्प दिइएको छैन भन्छन् टोम । उनले यसलाई एउटा प्रतिनिधिमुलक समस्याका रूपमा बताए ।

क्रोमबुक्स र अन्य निम्न मूल्यका कम्प्युटर धेरैजसो निम्न आय भएका अमेरिकी विद्यालयको छनोटमा पर्ने गर्छन् ।

‘यो गाह्रो छ किनकि मैले कम्प्युटरका लागि बाल दास श्रमलाई प्रोत्साहन गर्न सक्दिनँ । के हामी प्रक्रियाको पछि दौडिँदा अधिक बच्चाहरूलाई चोट पुऱ्याइरहेका त छैनौँ ?,’ जिल्लाको उत्तर डकोटामा रहेको ‘विलिस्टन पब्लिक स्कूल’ का लागि सूचना तथा प्रविधि निर्देशक म्याट बर्टनहेगनले भने । उनले पनि दुई हजार लेनोभो क्रोमबुकका लागि मे महिनामा माग गरी आपूर्तिको पर्खाइमा रहेको बताए । ‘उनीहरूले जुलाईमा बुझाउनु पर्ने थियो । तर अगस्टको सुरूमा बुझाउने प्रतिबद्धता आएको थियो । त्यसपछि अगस्टको अन्त्य भनियो । अहिले माग गरिएका पाठ्य सामग्रीको आपूर्ति वर्षको अन्त्यसम्ममा हुने अनुमान गरिएको छ ।’

कोलोराडोको सबैभन्दा ठूलो ‘डेनभर पब्लिक स्कूल’ ले पनि अप्रिल र मेमा माग गरेका १२ हजार ५०० ‘क्रोमबुक्स’ कहिले आउने हुन् पत्तै छैन ।

अनलाइन कक्षा सञ्चालनका लागि आवश्यक सामग्रीहरु पर्याप्त पाउन नसकेपछि देशभरीको शैक्षिक क्षेत्रमा अर्को चिन्ता थपिएको छ भने अविभावक, विद्यार्थी, शिक्षक र विद्यालय सञ्चालकलाई टाउकोदुखाइ भएको छ ।

कम्युटरविना विद्यार्थीहरुलाई अनलाइन कक्षा सञ्चालन गर्न सकिँदैन, तर त्यही सामग्रीको अभाव भइरहेको भन्दै, विद्यालयका एक व्यवस्थापकले गुनासो गरेको एपीले उल्लेख गरेको छ ।

विद्यालयका व्यवस्थापक तथा सरोकारवालाहरुले अनलाइन कक्षा सञ्चालनका लागि अत्यावश्यक सामग्रीहरु उपलब्धताका लागि सहयोग गर्न ट्रम्प प्रशासनलाई दबाब दिएका छन् । ल्यापटपविनाको अनलाइन कक्षा अर्थहीन हुने भन्दै उनीहरुले त्यसको व्यवस्था अनिवार्य गरिदिन माग गरेका छन् ।