जापानका प्रधानमन्त्री आबे लामो अवधि लगातार प्रधानमन्त्री हुने पहिलो व्यक्ति

जापानका प्रधानमन्त्री आबे लामो अवधि लगातार प्रधानमन्त्री हुने पहिलो व्यक्ति


जापानका प्रधानमन्त्री शिन्जो आबे जापानको इतिहासमै सबैभन्दा लामो अवधिसम्म लगातार प्रधानमन्त्री हुने पहिलो व्यक्ति बनेका छन् । तर, यस खुशीमा कुनै औपचारिक समारोह गर्नुको साटो कोरोना भाइरसका कारण प्रधानमन्त्री आबे दोस्रो पटक स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका छन् ।

सन् २०१२ को अन्त्यतिर दोस्रो कार्यकालका लागि चुनिएका प्रधानमन्त्री आबे सोमबारसम्ममा लगातार २ हजार ७७९औँ दिन प्रधानमन्त्री पदमा रहन सफल भएका छन् । यसअघि सन् १९६४ देखि १९७२ सम्म तत्कालीन प्रधानमन्त्री आइसाकु सातोले लगातार २ हजार ७९८ दिन प्रधानमन्त्री पदमा रहेर यो सफलता प्राप्त गरेका थिए ।

अर्को महिना ६६ वर्षमा प्रवेश गर्न लागेका आबेले गत वर्षको नोभेम्बरमै देशको सर्वाधिक लामो अवधिसम्म प्रधानमन्त्री हुने रेकर्ड पनि पार गरिसकेका छन् ।

स्वास्थ्यका कारण प्रधानमन्त्री आबेको पहिलो कार्यकाल १३ वर्षअघि एकाएक अवरुद्ध भएको थियो । त्यसबखत उनी एक वर्ष मात्र प्रधानमन्त्रीमा रहेका थिए । अहिले पनि उनको स्वास्थ्य अवस्थामा समस्या उत्पन्न हुन थालेको छ । पछिल्लो एक साताको अवधिमा उनी दोस्रो पटक सोमबार स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका छन् ।

दोस्रो पटक अस्पताल पुग्ने क्रममा संवाददाताहरुसँग कुरा गर्दै प्रधानमन्त्री आबेले आफू अघिल्लो पटक गरिएको स्वास्थ्य परीक्षणको नतिजा बुझ्न र थप परीक्षण गराउन आएको प्रतिक्रिया दिएका एपीले जनाएको छ । प्रधानमन्त्री आवेले आफ्नो स्वास्थ्य अहिले ठीक रहेको र अझ कडा मिहिनेत गर्न चाहेको अभिव्यक्ति दिएका छन् ।

अघिल्लो सोमबार प्रधानमन्त्री आबेले टोकियोस्थित कियो युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षणका लागि सात घण्टा बिताएका थिए । जापानी सञ्चारमाध्यमहरुले प्रधानमन्त्री आबेको स्वास्थ्य निरन्तर खस्किँदै गएको अनुमान गरेका छन् ।

आबेको मन्त्रिपरिषदका वरिष्ठ सदस्यहरु एवं अर्थमन्त्री तारो आसो समेतका सत्तारुढ दलका नेताहरुले प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण आरामको जरुरत रहेको बताएका छन् । प्रधानमन्त्री कार्यालयको समाचार संकलन गर्ने संचारकर्मीहरुले प्रधानमन्त्री आबे निकै थकित देखिन थालेको र विगतको जस्तो फुर्तिलो गरी हिँड्न नसक्ने अवस्थामा पुगेका जनाएका छन् ।

गत साता प्रधानमन्त्री आबेले कार्यालयमा निकै कम समय दिएका थिए ।