नयाँ नेतृत्व दिन भारतीय कांग्रेस असक्षम भएपछि…

नयाँ नेतृत्व दिन भारतीय कांग्रेस असक्षम भएपछि…


भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेस अझै केही समय अन्तरिम अध्यक्षकै नेतृत्वमा रहने भएको छ ।

पार्टीमा पूर्णकालिन र देखिने नेतृत्वको आवश्यकता रहेको आवाज उठेपछि बोलाइएको केन्द्रीय समितिको बैठकले त्यस्तो नेतृत्वको बारेमा निर्णय गर्न नसकेकाले अझै करिब एक वर्षका लागि अन्तरिम अध्यक्षकै नेतृत्वमा रहने भएको हो ।

तत्कालिन अध्यक्ष राहुल गान्धीले पदबाट राजीनामा दिएपछि कांग्रेस अहिले अन्तरिम अध्यक्ष सोनिया गान्धीको नेतृत्वमा चल्दै आएको छ । तर अन्तरिम अध्यक्ष गान्धीसहितका धेरै नेताहरुले नयाँ अध्यक्ष चयन गर्नुपर्नेमा जोड दिए पनि पार्टीले निर्णय गर्न असक्षम देखिएको छ ।

सोमबार बसेको केन्द्रीय समितिको बैठकमा नयाँ नेतृत्वका बारेमा छलफल भए पनि चयन गर्न नसकेकाले अर्को अध्यक्ष चयन नहुन्जेलसम्मका लागि गान्धीले नै अन्तरिम अध्यक्षको रुपमा पार्टीको नेतृत्व गर्ने भएकी छिन् ।

बैठकले जतिसक्दो चाँडो नयाँ अध्यक्ष चयन गर्ने निर्णय गरेको बताइएको छ । ुअन्तरिम अध्यक्ष गान्धीले नै अझै केही समय पार्टीको नेतृत्व गर्नुहुने भएको छ, ठोस निर्णय गर्न बैठक असमर्थ भएको छु, पार्टीका नेता केएच मुनियाप्पाले जानकारी दिए ।

नयाँ अध्यक्ष चयन हुनका लागि ६ महिनादेखि एक वर्षसम्म लाग्न सक्ने नेताहरुले बैठकमा बताएका थिए ।

कांग्रेसमा अझै पनि धेरै नेता तथा कार्यकर्ताहरुले राहुल गान्धीलाई नै अध्यक्ष बनाउनु पर्नेमा जोड दिएका छन् भने उनले अस्वीकार गर्दै आएका छन् ।

गएको आम निर्वाचनमा पार्टीलाई सबैभन्दा धेरै निर्वाचन क्षेत्रबाट जिताउन नसकेपछि नैतिक जिम्मेवारी लिदै राहुलले अध्यक्ष पदबाट राजीनामा दिएका थिए ।

उनले दिएको राजीनामा केही समय अस्वीकृत हुँदै उनैलाई अध्यक्षमा कायम गर्नुपर्ने माग उठिरहे पनि उनले अस्वीकार गरेपछि पार्टीकी अर्की पूर्वअध्यक्ष सोनिया गान्धीलाई अन्तरिम अध्यक्ष बनाइएको हो ।

सोनियालाई सन् २०१९ को अगस्ट १० तारिखका दिन केही समयका लागि भनेर अन्तरिम अध्यक्ष बनाइए पनि नयाँ अध्यक्ष चयन हुन नसक्दा अझै केही समय उनैले पार्टीको नेतृत्व गर्ने भएकी छिन् ।