भारतको उत्तर प्रदेशस्थित बालिया जिल्लामा एकजना पत्रकारको हत्या भएको छ । बालिया जिल्लाको फेपना गाउँनिवासी पत्रकार रतन सिंहको सोमबार (२४ अगष्ट) हत्या भएको हो । उनकै निवासमा सोमबार साँझ हत्या भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै एएनआईले जनाएको छ ।
प्रहरीले उनको हत्याको बारेमा अनुसनधान शुरु भएको पनि जानकारी दिएको छ । प्रारम्भिक अनुसन्धानबाट ती पत्रकार र सोही गाउँका केही व्यक्तिबीचको पुरानो रिसइबीका कारण हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
हत्या गरिएका पत्रकारका पिताले भने सोही गाउँका प्रमुख झबर सिंहले आफ्नो छोराको हत्या गरेको किटानी जाहेरी दिएका छन् । उनले तिनै गाउँ प्रमुखले नै यसअघि आफ्नो जेठो छोराको पनि हत्या गरेको बताएका छन् ।
बालिया जिल्लाका प्रहरी प्रमुख देवेन्द्रनाथले हत्यामा संलग्न जोसुकैलाई पनि कानुनी कारबाही गरिने आश्वासन दिएका छन् ।
उक्त पत्रकार हत्या प्रकरणले भारतमा चर्चा पाएको छ । सुरक्षा व्यवस्था चुस्त राख्न नसकेको भन्दै स्थानीय प्रहरी थानाप्रमुखलाई निलम्बन गर्नुका साथै ६ जना शंकास्पद व्यक्तिहरुलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया