भारतको राइगढमा भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या १० पुग्यो

भारतको राइगढमा भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या १० पुग्यो


भारतको महाराष्ट्र राज्यस्थित राइगढ इलाकामा पाँच तले भवन भत्किँदा कम्तीमा १० जनाको मृत्यु भएको राष्ट्रिय विपद् व्यवस्थापन बल (एनडीआरएफ) ले मङ्गलबार (२५ अगष्ट) पुष्टि गरेको छ ।

स्थानीय प्रशासनका अनुसार उक्त घरको भग्नावशेषमा अन्य केही व्यक्ति फसेको आशङ्का गरिएको र उनीहरूको उद्धारका लागि विभिन्न समूहले घटनास्थलमा काम गरिरहेका छन् ।

राइगढको काजलपुरा क्षेत्रमा रहेको पाँचतल्ले घर सोमबार एक्कासी भत्किँदा त्यहाँ रहेका दर्जनौँ व्यक्ति भग्नावशेषमा फसेका थिए । तत्काल स्थानीय तथा सरकारी अधिकारीसहितको उद्धार टोली घटनास्थल पुगी केही व्यक्तिलाई सकुशल उद्धार गरेका थिए ।

एनडीआरएफ, स्थानीय प्रशासन तथा स्थानीय नागरिक घटना लगत्तै उद्धारमा खटिएका थिए । घटनास्थलबाट मङ्गलबार तीन पुरूष र एक महिला गरी चार जनालाई मृत अवस्थामा निकालिएको छ भने एक बालकलाई घाइते अवस्थामा उद्धार गरिएको छ ।

घटना लगत्तै संघीय गृहमन्त्री अमित शाहले घटनामा मृत्यु भएका व्यक्तिहरूप्रति दुःख व्यक्त गर्दै एनडीआरएफका महानिर्देशकलाई फोन गरेर तत्काल उद्धार टोलीलाई घटनास्थलमा पठाउन निर्देशन दिएका थिए ।

भारतीय प्रधानमन्त्रीको कार्यालयले ट्वीटरमार्फत जारी गरेको शोक सन्देशमा भनिएको छ, ‘महाराष्ट्रको राइगढमा भवन भत्किँदा भएको घटनाले हामीलार्ई दुःखी बनाएको छ । यस घडीमा मृतकका आफन्तप्रति समवेदना । घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना ।’