ओमनारायणले गरे बक्सिङ खेलाडीको कोरोना बीमा

ओमनारायणले गरे बक्सिङ खेलाडीको कोरोना बीमा


गत मंसिरमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी १६ जना बक्सिङ खेलाडीको कोरोना बीमा गरिएको छ ।

पूर्व बक्सर एवं नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य ओमनारायण श्रेष्ठले १३औं सागमा सहभागी १६ खेलाडी र दुई प्रशिक्षकको कोरोना बीमा गरिदिएका हुन् ।

नेपाली बक्सिङको विकासमा लामो समयदेखि क्रियाशील श्रेष्ठले आफ्नै खर्चमा हरेक खेलाडी र प्रशिक्षकको जनही एक लाख रुपैयाँको कोरोना बीमा गरेका हुन् ।

१३औँ सागमा १० पुरुष र ६ महिला गरी १६ खेलाडीले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गरेका थिए । जसमा नेपालले तीन स्वर्ण, ६ रजत र ६ कांस्य जितेको थियो । १३औं सागमा नेपालका मीनु गुरुङ, सनिल शाही र भूपेन्द्र थापाले स्वर्ण पदक जितेका थिए ।

यसैगरी ललिता महर्जन, माला राई, संगीता सुनार, पुनम रावल, गणेश प्रधान र आशिष दुवाडीले रजत तथा सुशील थापा, तेजबहादुर देउवा, पुरन राई, विकास लामा, अर्जुन सिगु र चन्द्रकला थापाले कांस्य पदक जितेका थिए । १३औं सागमा दीपक श्रेष्ठ मात्र पदक जित्न असफल भएका थिए ।

यसैगरी १३औं सागमा प्रशिक्षणमा सहभागी बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापा मगर र प्रवीण तुलाधरको पनि पूर्वबक्सर श्रेष्ठले कोरोना बीमा गरिदिएका छन् । कोरोना भाइरसको महामारीका बेला विभिन्न खेलका खेलाडीको बीमा भएको समाचार आइरहँदा बक्सिङ खेलाडीको पनि बीमा गरिदिएको पूर्व बक्सर श्रेष्ठले जानकारी दिए । यसले महामारीको समयमा पनि खेलाडीको हौसला बढाउन सहयोग पुग्ने उनले बताए ।

खेलाडीहरूको कोरोना विमा गर्ने जिम्मेवारी नेपाल बक्सिङ संघको भएपनि संघका अध्यक्ष राम अवालेले यो विषयमा कुनै चासो नदिएपछि श्रेष्ठ स्वयंले खेलाडी र प्रशिक्षकको कोरोना विमा गरेका हुन् । यो घटनाले खेलाडीको भविष्यप्रति अध्यक्ष अवाले कति गम्भिर छन त्यो प्रस्ट भएको छ ।

असक्षम अध्यक्षको उपाधि पाईसकेका अवालेले आफ्नो चार वर्षे कार्यकाल चाकरी चाप्लुसी गर्नैमा विताए । संघलाई बक्सिङ संघभन्दा पारिवारिक संघ बनाएर बक्सिङको हुर्मत लिन कार्य गरे । जस्को विरुद्धमा संघका महासचिव र कोषाध्यक्षले राष्ट्रिय खेलकुद परिषदमा दिएको उजुरीवाट पनि पुस्टि हुन्छ ।

साग गेममा बाई पाएर फाइनलमा पुगेका र फाइनलमा पनि नकआउट भएर एउटै पनि खेल नजिति रजत पदक जितेका अवाले आफुलाई बक्सिङ खेलको उत्कृष्ट खेलाडी भएको दाबी गर्दै आएका छन् । अवालेलेको खेल जीवनको वास्तविकतावाट अनविज्ञहरुको लागि उनी महान खेलाडी भएपनि उनी कस्ता खेलाडी हुन त्यो माथि उल्लेखित कुरावाट प्रस्ट हुन्छ ।

यस्ता खेलाडी पदाधिकारी भएपछि खेलाडीहरुले यो भन्दा बढी आशा गर्नु मूर्खता वाहेक के हुन सक्थ्यो ? त्यसलाई कोरोना विमाले पनि प्रष्ट पारेको छ ।