राष्ट्रपति ट्रम्पको चुनावी कार्यक्रमले आँधीप्रभावित क्षेत्रमा जान ढिलाइ !

राष्ट्रपति ट्रम्पको चुनावी कार्यक्रमले आँधीप्रभावित क्षेत्रमा जान ढिलाइ !


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आँधीप्रभावित क्षेत्रको पछिल्लो अवस्थाबारे अध्ययन गर्ने भएका छन् । तर, तत्काल नभई एक-दुई दिनपछि मात्र राष्ट्रपतिले ती प्रभावित क्षेत्रको भ्रमण गर्ने समाचारमा जनाइएको छ ।

एएनआईका अनुसार रिपब्लिकन पार्टीको पूर्वनिर्धारित राष्ट्रिय भेलाका कारण तत्काल उनी प्रभावित क्षेत्रमा पुग्न नसकेका हुन् । सो क्षेत्रमा तत्काल भ्रमण गर्नका लागि राष्ट्रपति ट्रम्पले पार्टीको राष्ट्रिय भेलालाई आफूले गर्न लागेको सम्बोधनको कार्यक्रम पछि सार्न खोजेको प्रतिक्रिया दिएका छन् ।

आँधी निकै ठूलो भएकोले तत्काल जान नसकिएको भन्दै अब भने आँधी कमजोर भएकोले अब छिट्टै गइहाल्ने पनि बताएका छन् ।

अमेरिकाका लुजियाना र टेक्सासमा करिब २४० किलोमिटर प्रतिघण्टाको गतिमा आएको हावाहुरीले निकै क्षति पुऱ्याएको छ । यो आँधीले पाँच लाख घरपरिवारमा बिजुलीको आपूर्ति अवरुद्ध भएको छ भने एउटा औद्योगिक रसायन कारखानामा पनि आगलागी भएको समाचारमा जनाइएको छ ।

समाचारका अनुसार अहिले सो आँधी कमजोर बनेको छ । अमेरिकामा आएको यो शक्तिशाली समुद्री आँधीका कारण लुइजियाना राज्यमा बढी क्षति पुगेको बताइएको छ ।

‘लोरा’ नामक आँधीले पुऱ्याएको क्षतिको आँकलन गर्ने काम भइरहेको छ । लुइजियानास्थित एक रसायन कारखानामा आगलागी भएपछि स्थानीय मानिसहरूलाई त्यहाँ सतर्क रहन भनिएको छ ।