नोबेल शान्ति पुरस्कार विजेता डेनिस मुक्वेगेलाई आएको ज्यान मार्ने चेतावनीविरूद्ध तत्काल छानविन गर्न संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुखले आग्रह गरेकी छन् । उक्त घटनामा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन प्रजातान्त्रिक गणतन्त्र कङ्गोलाई युएनका तर्फबाट शुक्रबार (२८ अगष्ट) आग्रह गरिएको हो ।
‘उहाँको जीवन गम्भीर जोखिममा रहेको देखिन्छ,’ राष्ट्रसंघ मानव अधिकार मामिला प्रमुख मिशेल बाचेलेटले विज्ञप्तिमार्फत् भनेकी छन् । कङ्गोको सरकारलाई ध्यानाकर्षण गराउँदै घटनाको निष्पक्ष छानबिन गर्न पनि उनले आग्रह गरेकी छन् ।
सन् २०१८ मा युद्धका समय यौन हिंसाविरूद्ध गरेको कामका लागि नोबेल शान्ति पुरस्कार प्राप्त गर्न सफल मुक्वेगेले गत जुलाइमा आफू र आफन्तमाथि ज्यान मार्ने चेतावनी आएको राष्ट्रसङ्घलाई जानकारी गराएका थिए ।
पूर्वी कङ्गोको झगडाग्रस्त दक्षिण किवुमा १८ व्यक्तिको नरसंहारको निन्दा गर्दै एउटा ट्वीट पठाएपछि आफूलाई ज्यान मार्ने धम्की आएको उनको भनाई छ ।
आन्तरिक सुरक्षा, न्याय र न्याय मन्त्रीहरू र अन्य निकायले पेशाले चिकित्सकसमेत रहेका मुक्वेगेको सुरक्षा सुनिश्चित गर्न सबै उपायहरू अवलम्बन गरिने राष्ट्रपति फेलिक्स सिसेकेदीले गत हप्ता आश्वासन दिएका थिए ।
राष्ट्रपतिले सार्वजनिक गरेका टिप्पणीहरूको स्वागत गर्दै मुक्वेगे र उनको टोलीलाई आफ्नो कामलाई निरन्तरता दिइराख्ने वातावरणको निर्माण हुनेमा बचेलेटले विश्वास व्यक्त गरेकी छन् ।
नोबेल पुरस्कार विजेता मुक्वेगेलाई ‘एक सच्चा नायक’ भन्दै राष्ट्रपतिद्वारा सुरक्षाका लागि आएको सार्वजनिक अभिव्यक्तिको बचेलेटद्वारा स्वागत गरिएको छ ।
मुक्वेगेलाई यसपहिले पनि पटक–पटक मार्ने धम्की आएको बताइएको छ । उनी सन् २०१२ अक्टुबरमा भएको हत्या प्रयासबाट बच्न सफल भएका थिए ।
प्रतिक्रिया