चिनियाँ उपभोक्ताले ‘एप्पल’लाई बहिष्कार गर्न सक्ने चेतावनी

चिनियाँ उपभोक्ताले ‘एप्पल’लाई बहिष्कार गर्न सक्ने चेतावनी


संयुक्त राज्य अमेरिकाले चिनियाँ सामाजिक सञ्जाल ‘विच्याट’लाई प्रतिबन्ध लगायो भने चिनियाँ उपभोक्ताले एप्पललाई बहिष्कार गर्न सक्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले चेतावनी दिएका छन् ।

प्रसिद्ध सामाजिक सञ्जाल ‘विच्याट’ र ‘टिकटक’को प्रयोगमा प्रतिबन्ध लगाउने चेतावनी अमेरिकी ट्रम्प प्रशासनले बताइरहेका बेला चीनको उक्त भनाइ आएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै मात्र सेप्टेम्बरको मध्यदेखि विच्याट र टिकटकमा प्रतिबन्धको घोषणा गरेका छन् । राष्ट्रपति ट्रम्पले राष्ट्रिय सुरक्षालाई खतरामा पार्ने आरोप लगाउँदै ती सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने बताएपछि बेइजिङ र वाशिङ्गटनबीच तनाव थप बढेको देखिएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिच्यानद्वारा शुक्रबार (२८ अगष्ट) ट्वीटरमार्फत जारी सन्देशमा भनिएको छ, ‘यदि ‘विच्याट’लाई अमेरिकामा प्रतिबन्ध लगाइयो भने चिनियाँहरूले ‘आईफोन’ र ‘एप्पल’का उत्पादनहरूलाई राख्नुपर्ने कुनै कारण हुने छैन ।’

यसअघि बिहीबार झाओले भनेका थिए, ‘धेरै चिनियाँहरूले अमेरिकामा ‘विच्याट’लाई प्रतिबन्ध गरिएमा चीनमा ‘आइफोन’ प्रयोग गर्न बन्द गर्नुपर्ने आवाज उठिरहेका छन् ।’ चिनियाँ एपलाई लक्षित गरी अमेरिकाले गैरअमेरिकी कम्पनीहरूलाई व्यवस्थित रूपमा आर्थिक आक्रमण गरिरहेको दाबी उनले गरेका छन् ।

बेइजिङले अमेरिकी उत्पादनको बहिष्कार गर्ने चेतावनीभन्दा पहिले विश्वका दुई शक्ति राष्ट्रहरूबीच व्यापार विवाद कायमै थियो । यसबाहेक अमेरिका र चीनबीच दक्षिण चीनमा रहेको ‘साउथ चाइना सी’मा सैन्य गतिविधि, हङकङलाई हेर्ने दृष्टिकोण तथा कोरोनाभाइरसको उत्पत्ति र यसलाई फैलिन नदिने बिषयमा चीनले वेवास्ता गरेको भन्दै अमेरिकाले आरोप लगाउँदै आएको छ । चीनले अमेरिकी आरोपलाई खण्डन गर्दै आइरहेको छ ।

चिनियाँ सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले शुक्रबार झाओको चेतावनीबारे मिश्रित प्रतिक्रिया दिएका छन् ।