रिपब्लीकन पार्टीले आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पुनः उम्मेदवार हुन औपचारिक मनोनयन गरेको छ ।
यो मनोनयनसँगै आगामी चुनावमा डेमोक्र्याटिक पार्टीबाट जो बाइडेन र रिपब्लीकन पार्टीबाट डोनाल्ड ट्रम्प दुई मुख्य प्रतिस्पर्धी हुने भएका छन् ।
ह्वाइट हाउसको परिसरमा स्थानीय समय अनुसार बिहीबार राति भएको उम्मेदवारी घोषणा सभालाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले विपक्षी डेमोक्र्याट पार्टीबाट उम्मेदवार जो बाइडेनका नीतिहरु अमेरिकाका लागि निकै खतरनाक र घातक रहेको आरोप लगाए ।
एक घण्टाभन्दा बढी समय सम्बोधन गर्ने क्रममा राष्ट्रपति ट्रम्पले कोरोना भाइरसबाट अमेरिकालाई जोगाउन आफूले निकै सफलता पाएको दाबी गरे ।
कोरानाभाइरसको संक्रमणबाट अमेरिकामा मात्र एक लाख ८० हजारभन्दा बढीको मृत्यु भए पनि राष्ट्रपति ट्रम्पले आफूले चालेका सकारात्मक कदमका कारण अझ ठूलो क्षति हुन नपाएको बताए ।
अमेरिकाले अहिले अभूतपूर्व जातीय आन्दोलन, आर्थिक मन्दी र राष्ट्रिय स्वास्थ्य आपतकाल परिस्थितिको सामना गरिरहे पनि राष्ट्रपति ट्रम्पले अमेरिकाको भविष्य निकै उत्साहप्रद रहेको जिकिर गरेका थिए । तर यो उत्साहलाई कार्यरुपमा परिणत गर्न आफूले पुनः चार वर्षका लागि विजयी हुनै पर्ने अवस्था रहेको उनको जिकिर थियो ।
उनले पूर्व उपराष्ट्रपति जो बाइडेनले विगत ४७ वर्षमा राष्ट्रलाई पु–याएका क्षतिलाई उल्ट्याउन आफूलाई चार वर्ष लागेको अभिव्यक्ति पनि दिए । जो बाइडेनले विगतमा सिनेटर र पूर्वउपराष्ट्रपतिका रुपमा सार्वजनिक सेवा गरेका छन् । राष्ट्रपति ट्रम्पले जो बाइडेनलाई जिताउन चीनले समर्थन गरेको आरोप समेत लगाए ।
अमेरिकामा कोरोनाभाइरसको महामारीका कारण चुनावी कार्यक्रमहरु भर्चुअल बैठक, छलफल र टेलिभिजन सम्बोधनमा सीमित रह ेपनि राष्ट्रपतिका दुबै आकाँक्षीले आगामी सातादेखि चुनावी प्रचारलाई तीव्र बनाउने जनाएका छन् । हाल डिलावेयरस्थित आफ्नै निवासमा रहेका डेमोक्र्याटिक पार्टीका जो बाइडेनले चाँडै चुनावी अभियान शुरु गर्ने बताएका छन् ।
सो अवसरमा राष्ट्रपति ट्रम्पले कोरोना भाइरसको खोप चाँडै उपलब्ध हुने बताउँदै कोरोनाभाइरस महामारीमा विजय हासिल गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे । चार दिनसम्म चलेको रिपब्लीकन पार्टीको अधिवेशनमा बोल्ने अधिकांश वक्ताले पनि कोरोना भाइरस महामारी अब इतिहास भइसकेको बताएका थिए ।
राष्ट्रपति ट्रम्पले डेमोक्र्याट उम्मेदवार जो बाइडेनलाई अतिवादीको घेरामा परेको बताउँदै डेमोक्र्याटले चुनाव जिते मुलुकमा अस्थिरता बढ्ने, कर वृद्धि हुने, अर्थतन्त्र ध्वस्त हुने तथा चीनजस्ता मुलुकले अमेरिकी रोजगारी खोस्ने तर्क गरे ।
यसैबीच जो बाइडेनले ट्वीट गर्दै भनेका छन्, ‘डोनाल्ड ट्रम्पले नाम लिएका देशभित्रका सबै हिंसाका लागि ट्रम्प नै दोषी छन् । यो उनकै कार्यकालमा भएको छ । राजनीतिक फाइदाका लागि ट्रम्पले हिंसाको सहारा लिएका छन् ।’
प्रतिक्रिया