कोरोना भाइरसबाट भारतमा दैनिक सङ्क्रमितहरुको सङ्ख्या वृद्धि हुँदै गइरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएका छन् ।
भारतको संघीय स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा ७८ हजार ७६१ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको जानकारी दिएको छ । यो तथ्याङ्क भारतमा मात्र नभई विश्वमै एकै दिन संक्रमण भएकोमध्ये सर्वाधिक ज्यादा रहेको बताइएको छ ।
मन्त्रालयले आइतबार (३० अगष्ट) बिहान सार्वजनिक गरेको तथ्याङ्क अनुसार अब भारतमा कुल सङ्क्रमितहरुको सङ्ख्या ३५ लाख ५० हजारको नजिक पुगेको छ ।
पछिल्लो एक दिनको विवरणमा कोरोनाका कारण मृत्यु भएकाहरुको सङ्ख्या ९४८ रहेको उल्लेख गरिएको छ भने भारतमा कोरोनाका कारण सङ्क्रमित भएकामध्ये सात लाख ६५ हजार ३०२ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् ।
कूल सङ्क्रमित मध्ये २७ लाख १३ हजार ९३४ जना भने सङ्क्रमणमुक्त भइसकेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
भारतमा कोरोनाका कारण अहिलेसम्म ६३ हजार ४९८ जनाको मृत्यु भएको मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ । एएनआईका अनुसार कोरोनाभाइरसबाट विश्वमै धेरै प्रभावित देशहरुको सूचीमा रहेको भारतमा सवैभन्दा धेरै महाराष्ट्र प्रदेश प्रभावित भएको छ ।
महाराष्ट्रमा मात्रै अहिलेसम्म एक लाख ८५ हजार ४६७ जना सङ्क्रमित भएका छन् । त्यसपछि धेरै आन्द्र प्रदेश, दिल्ली प्रदेश र कर्नाटक प्रदेश क्रमशः रहेका छन् ।
प्रतिक्रिया