अन्नपूर्ण खेलमैदान पुनः डिजाइन गरिने

अन्नपूर्ण खेलमैदान पुनः डिजाइन गरिने


कास्कीको अन्नपूर्ण गाउँपालिकामा ‘एक पालिका एक खेलमैदान’ निर्माण कार्यक्रमअन्तर्गत निर्माण भइरहेको स्थानीय माछापुच्छ्रे माविको खेलमैदानलाई पुनः डिजाइन गरिने भएको छ ।

उक्त खेलमैदानमा स्तरोन्नतिका क्रममा गलत इञ्जीनियरिङ भएको भन्दै स्थानीय युवाले आवाज उठाएपछि उक्त डिजाइन फेर्न गाउँपालिका तयार भएको हो ।

गाउँपालिका अध्यक्ष युवराज कुँवरले युवाहरूले सचेत पालिकावासीको भूमिका निर्वाह गरेको जनाउँदै आगामी दिनमा पनि गाउँपालिकाका हरेक गतिविधिमा चासो दिई रचनात्मक सुझाव दिन आग्रह गरेका छन् ।

स्थानीय युवाले निर्माण जारी रहेको उक्त स्थानमा चेञ्जिङ रुम तथा कार्यक्रम हलका कारण छेकिएर दर्शकले प्यारापिटबाट खेलमैदानको केही भाग देख्न नसक्ने अवस्था बन्नेतर्फ सचेत गराउँदै आएका थिए । गाउँपालिकाको गौरवको आयोजना भएकाले थप बिग्रन नदिन आवाज उठाएको स्थानीय सिम्पालीका शिव सुवेदी बताउँछन् ।

उनले भने, ‘हामीले कसैको विरोध गरेको होइन, गलत काम भइरहेको छ भनेर खबरदारी मात्रै गरेको हो, खबरदारी गर्दागर्दै पनि निर्माण जारी रहेकाले त्यस्तो काम रोक्नुपर्ने हाम्रो आवाज थियो ।’

यसैक्रममा पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका इञ्जीनियर प्रनिश ताम्राकारसहितको टोलीले निर्माणाधीन उक्त खेलमैदानको शनिबार अवलोकन गरेपछि खेल तथा दर्शकमैत्री मैदान बनाउने सिलसिलामा डिजाइन पुनः परिमार्जन गर्ने सहमति भएको वडा नं २ का अध्यक्ष चुडामणि अधिकारीले जानकारी दिए । ‘प्यारापिटमा बसेर हेर्दा सातदेखि १० प्रतिशत मैदान छेकिने रहेछ, त्यो हामीले पनि महसुस गऱ्यौँ’, वडाध्यक्ष अधिकारीको भनाइ छ ।

मैदानको गाउँपालिकाका इञ्जीनियर राजन गौतमले डिजाइन गरेका थिए । मैदान निर्माणका लागि सङ्घीय सरकारको युवा तथा खेलकूद मन्त्रालयबाट रु ५० लाख तथा गाउँपालिकाको रु पाँच लाख बजेट विनियोजन भएको छ । मैदानको उत्तरपट्टि निर्माणकार्य भइरहेको छ । त्यसअन्तर्गत बीच भागमा चेञ्जिङरुम तथा कार्यक्रम हल निर्माण जारी थियो ।