अमेरिकी शहर न्युयोर्कमा पाकिस्तानका विरुद्धमा प्रदर्शन भएको छ । अमेरिकामा रहेका पाकिस्तानी तथा अरु विदेशी नागरिकहरुले पनि न्युयोर्कमा रहेको पाकिस्तानी कन्सुलेटमा गएर पाकिस्तानको सरकारका विरुद्धमा प्रदर्शन गरेका हुन् ।
नागरिकलाई जबर्जस्ती बेपत्ता बनाउने कार्यविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा त्यहाँ प्रदर्शन भएको एएनआईले जनाएको छ । पाकिस्तानमा पनि नागरिकहरुलाई जबर्जस्ती बेपत्ता बनाउने क्रम नरोकिएको भन्दै यसविरुद्ध प्रदर्शन भएको ती प्रदर्शनकारीहरुले बताएका समाचारमा जनाइएको छ ।
पाकिस्तानका अल्पसंख्यक समुदायका नागरिकलाई जबर्जस्ती अपहरण गरेर बेपत्ता बनाउने गरिएको र पछिल्लो समयमा सो क्रम अझ बढ्दै गएको भन्दै त्यस कार्यका विरुद्धमा आइतबार सो प्रदर्शन गरिएको थियो । प्रदर्शनकारीहरुले यस्तो कार्य तुरुन्त रोक्न पाकिस्तान सरकार र त्यहाँको सेनासमक्ष माग पनि गरेका थिए ।
प्रदर्शनका सहभागीले भनेका थिए– हामी पाकिस्तानी सरकरको यस्तो कार्यको कडा रुपमा विरोध गर्दछौँ र उनीहरुले यस्ता कार्य तत्कालै बन्द गरुन् भन्ने चाहन्छौँ । उनीहरुका अनुसार पाकिस्तानको सेना र त्यहाँका गुप्तचर निकायका अधिकारीहरुले नै कैयौँ राजनीतिकर्मी, विभिन्न पेशामा लागेका व्यक्ति र पत्रकारहरु समेतलाई बेपत्ता बनाएका छन् । यसरी जबर्जस्ती बेपत्ता बनाइएका व्यक्तिहरुको संख्या पाकिस्तानमा हजारौँ रहेको उनीहरुको दाबी छ । सो क्रम अहिले पनि नरोकिएको बरु झनै बढ्दै गएको उनीहरुको भनाई छ ।
अफगानिस्तानमा बम हमला, दुई जनाको हत्या
यसै क्रममा अफगानिस्तानको काबुलमा सडकमा राखिएको बम विस्फोट गराएर दुई जनाको हत्या गरिएको छ । अफगानिस्तानको दक्षिणी प्रान्त हेल्माण्डमा सो दुर्घटना भएको हो । उक्त प्रान्तको नाड ए अली जिल्लामा भएको सो विस्फोटबाट अरु केही घाइते भएका पनि बताइएको छ ।
सो जिल्लाका गभर्नर आयु ओमार आमरीले सर्वसाधारण नागरिकको हत्या गर्ने उद्देश्यले उक्त जिल्लाको सार्वजनिक सडकमा बम राखिएको र त्यसमा परी दुईजनाको ज्यान गएको पुष्टि गरेका छन् । सो बम स्थानीय तालिबानीहरुले राखेको अनुमान पनि उनले गरेका छन् ।
पछिल्ला केही दिनहरुमा अफगानिस्तानमा सुरक्षाको अवस्था झन् नाजुक भएको छ । अफगानिस्तानको सरकारले त्यहाँका तालिबानहरुसँग वार्ता गर्ने तयारी भएको भनिए पनि यहाँ हत्या हिंसाको कार्य भने रोकिएको छैन ।
प्रतिक्रिया