जापानको इतिहासमै आबे सबैभन्दा राम्रो प्रधानमन्त्री भएको ट्रम्पको प्रतिक्रिया

जापानको इतिहासमै आबे सबैभन्दा राम्रो प्रधानमन्त्री भएको ट्रम्पको प्रतिक्रिया


अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै पद त्याग गरेका जापानका प्रधानमन्त्री सिन्जो आबेलाई जापानको इतिहासकै सबैभन्दा राम्रो प्रधानमन्त्रीको संज्ञा दिएका छन् ।

दुई नेताबीचको टेलिफोन कुराकानीका क्रममा ट्रम्पले आबेको प्रशंसा गर्दै राम्रो प्रधानमन्त्रीको संज्ञा दिएका हुन् ।

जापानका तत्कालिन प्रधानमन्त्री ६५ वर्षीय आबेले गत शुक्रबार पद त्यागेको घोषणा गरेका थिए । आफ्नो अस्वस्थताका कारणले गर्नुपर्ने जति काम गर्न नसकेको र त्यसले देश र जनतालाई हानी पुर्‍याउन लागेको भन्दै उनले राजीनामा दिएका थिए ।

अझै झण्डै साढे एक वर्ष कार्यकाल बाँकी रहेकै बेला पद त्यागको घोषणा गरेका आबे जापानको इतिहासमा सबैभन्दा धेरै समय प्रधानमन्त्री बन्ने नेता पनि हो ।

आइतबार राति ट्रम्पले फोन गरेपछि दुई नेताले पछिल्लो चार वर्षमा आफूहरुका बीचमा भएका सहकार्य, भेटघाट र वार्तालापहरुको स्मरण पनि गर्नुभएको थियो । समीक्षाका क्रममा दुई नेताले आफुहरुबीचको सम्बन्ध विशिष्ट प्रकारको भएको चर्चा गरेका थिए ।

आबेले पद त्यागको घोषणा गरेपछि उनीहरुका बीचमा पहिलो पटक कुराकानी भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसले जनाएको छ ।

राष्ट्रपति ट्रम्पले जापानमा आबे प्रधानमन्त्री भएको बेलामा जापान र अमेरिकाबीचको सम्बन्ध सुमधुर रहेको उल्लेख गरेका थिए । उनले जापान–अमेरिका सम्बन्ध आगामी दिनमा पनि थप सुदृढ हुँदै जाने विश्वास व्यक्त गर्दै जापानलाई राम्रो बनाउन आबेको अति महत्वपूर्ण भूमिका रहेको दाबी गरे ।

आबेको कार्यकाल अर्को वर्ष सन् २०२१ को सेप्टेम्बरसम्मका लागि थियो । उनले पद त्याग गरेपछि जापानमा अहिले नयाँ प्रधानमन्त्री चयन गर्ने प्रक्रिया चलिरहेको छ ।