‘सुडानी विद्रोही समूह शान्ति सम्झौताका लागि सहमत’

‘सुडानी विद्रोही समूह शान्ति सम्झौताका लागि सहमत’


सुडानको मुख्य विद्रोही गठबन्धनले १७ वर्ष लामो द्वन्द्वको अन्त्य गर्ने उद्देश्यले सरकारसँग शान्ति सम्झौता गर्न सहमति जनाएको छ । सुडानको राज्य सञ्चालित समाचार एजेन्सी सुनाले सोमबार (३१ अगष्ट) जनाएअनुसार सुडान क्रान्तिकारी मोर्चा (एसआरएफ), दाफरको पश्चिमी क्षेत्र र दक्षिण कोरदोफन तथा ब्लु नाइल क्षेत्रमा सक्रिय विद्रोही समूहको गठबन्धनले शनिबार सरकारसँग स्थायी शान्ति प्रक्रियाका लागि सहमतिमा हस्ताक्षर गरेको हो ।

यद्यपि सरकार र उक्त समूहबीच औपचारिक शान्ति सम्झौता भने दक्षिण सुडानको पहल तथा मध्यस्थतामा दक्षिण सुडानको राजधानी जुवामा सोमबार हुनेछ । सुडानी विद्रोहीसँग सन् २०१९ को अन्त्यदेखि नै शान्तिका लागि वार्ताहरू चलिरहेका थिए ।

उच्च सरकारी अधिकारी र विद्रोही नेताहरूले ‘सुरक्षा व्यवस्थाको प्रोटोकोल’ लगायतका अन्य प्रारम्भिक विषयहरूमा शनिबार हस्ताक्षर गरेको सुनाले जनाएको छ ।

सोमबार हुने शान्ति सम्झौतामा सरकार र विद्रोहीबीच सुरक्षा, जमिनको स्वामित्व, सङ्क्रमणकालीन न्याय, शक्ति बाँडफाँड र युद्धको कारण आफ्नो घर छोडेर शरणार्थी अवस्थामा रहेका व्यक्तिको फिर्ती जस्ता मुख्य मुद्दाहरू समेट्ने बताइएको छ । सम्झौतामा विद्रोही समूहको भङ्ग गर्दै उनीहरूलाई राष्ट्रिय सेनामा एकीकरण गर्नेलगायतका सहमति हुने विश्वास गरिएको छ ।

समाचार एजेन्सीले सुडानका प्रधानमन्त्री अब्दाल्ला हमदोक र धेरै मन्त्रीहरू आइतबार जुवाको लागि उडान गरिसकेका बताएको छ ।

विद्रोही सेनाले सरकारले ठूलो समूहलाई वेवास्था गर्दै आर्थिक र राजनैतिकरूपमा नागरिकलाई भेदभाव गरेको भन्दै समानताका लागि हतियार उठाएको बताउँदै आएको थियो ।

उनीहरू धेरै हदसम्म गैरअरब अल्पसंख्यक समूहका नागरिक हुन् । उनीहरूले खार्तुममा बन्ने सरकारहरूको अरब प्रभुत्वविरूद्ध लामो समयदेखि प्रदर्शन गरेका बताउँदै आएका थिए । उनीहरूको आन्दोलनका कारण लामो समयदेखि सुडानमा राष्ट्रपति रहेका ओमर अल बशीर पनि गत वर्ष सत्ताबाट बाहिरिनु परेको थियो ।

सन् २००३ मा विद्रोहीहरूले त्यहाँ हतियार उठाएदेखि लगभग दाफरमा करिब तीन लाख सुडानी मारिएका संयुक्त राष्ट्र सङ्घको तथ्याङ्कमा उल्लेख छ ।

त्यस्तै सन् २०११ मा दक्षिण कोर्डोफान र ब्लु नाइल क्षेत्रमा द्वन्द्व सुरु भएको थियो । सन् १९८३ देखि २००५ सम्म भएको सुडानको गृहयुद्धमा उठेका विषयलाई वेवास्था गरिएको भन्दै दक्षिण कोर्डोफान र ब्लु नाइल क्षेत्रमा द्वन्द्व सुरू भएको हो ।

सन् २०१९ को अप्रिलमा तत्कालिन शासक बसीरको पतनपछि सत्तामा आसिन सुडानको सङ्क्रमणकालीन सरकारको लागि प्रमुख उपलब्धि भएको बताइएको छ ।