ह्यान्डबल संघद्वारा १ सय १९ जनाको कोरोना विमा

ह्यान्डबल संघद्वारा १ सय १९ जनाको कोरोना विमा


नेपाल ह्याण्डबल संघले खेलाडी, प्रशिक्षक र रेफ्रीहरू गरी १ सय १९ जनाको कोरोना विमा गरेको छ ।

विश्वमा महामारीको रुपमा कोरोना फैलिएसँगै संघले आफ्ना जुनियर तथा सिनियर राष्ट्रिय खेलाडी, प्रशिक्षक तथा रेफ्रीहरुको कोरोना विमा गराएको हो ।

अन्तर्राष्ट्रिय ह्याण्डबल महासंघ (आई.एच.एफ) को सहयोगमा पहिलो चरणमा १ सय १९ जनाको कोरोना विमा गरिएको संघका महासचिव सन्देश रेग्मीले जानकारी दिए ।

‘हामीले पहिलो चरणमा १ सय १९ जनाको विमा गरेका छौँ, अझै करिव ५० जना छन्, एकै पटक नाम संकलनका लागि समस्या भएकोले एक साताभित्रै सबैको विमा गर्दैछौँ’– महासचिव रेग्मीले जानकारी दिए । सबै प्रदेश र जिल्लाहरुबाट विमा गर्न छुटेका खेलाडीहरुको नाम संकलन गर्ने काम भइरहेको समेत उनले बताए ।

संघले जुनियर तथा सिनियर लेभलमा केही वर्षयता कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएका खेलाडीको कोरोना विमा गराएको कोषाध्यक्ष मिठाराम अधिकारीले जानकारी दिए । उनले कोभिड १९ का कारण समस्यामा भएका खेलाडीहरुलाई समेत राहत बाँड्नका लागि सबै जिल्लाबाट नाम संकलन कार्य भइरहेको बताउँदै यसका लागि आर्थिक विनियम समेत संघले तयार पारिसकेको पनि बताए ।

अध्यक्ष तेज गुरुङका अनुसार विश्वव्यापी रूपमा महामारीको रुपमा फैलिएको कोभिड–१९ विरुद्ध लड्न र नेपालको ह्याण्डबल खेल विकासका लागि अन्तर्राष्टिय ह्याण्डबल महासंघ (आई.एच.एफ) ले ६ हजार स्विस फ्र्यान्क नेपाल ह्याण्डबल संघलाई सहयोग गरेकोे छ ।